बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सुधारका दर्जनौँ काम छाडेर बुक बिल्डिङको वकालतमा धितोपत्र बोर्ड अध्यक्ष हमाल

सोमबार, वैशाख २६ २०७९
सुधारका दर्जनौँ काम छाडेर बुक बिल्डिङको वकालतमा धितोपत्र बोर्ड अध्यक्ष हमाल

काठमाडौं- अहिले सेयर बजार बेरियस अवस्थामा छ। ३२ सयको बिन्दुबाट घटेर २२ सय बिन्दुमामा आइपुगेको छ। करिब हजार अंकले घटेको बजारमा एक समय २२ अर्बको सेयर कारोबर अहिले औसत १ अर्ब ४४ करोडको हाराहारिमा आइपुगेको छ। साना लगानीकर्ताहरू दैनिक घटेको बजारमा प्यानिक सेलिङ गरेर बाहिरिन थालेका छन्। विशेषगरी चुनावी समयमा बजार बढेको अवस्थालाई मध्यनजर गरेर लगानी गरेका लगानीकर्ता यतिबेला चिन्तित छन्।

बजारको ओरोला यात्रा तब ब्रेक लाग्यो जब गत भदौमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५२ वटा कम्पनीको सूची सार्वजनिक गर्‍यो। यी कम्पनीमा लगानी गर्न नहुने भन्दै जोखिम कम्पनी सार्वजनिक गरेपछि लगानीकर्ताहरू रुष्ट भए। तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नियामक निकाय कस्तो हुनुपर्छ भन्ने देखाउन त खोजे तर नियम विपरीत।

ढुंगाना आफै बुक विल्डिङको सेयर सस्तो मूल्यमा किनेपछि पदबाट निलम्बित हुनपरेको थियो। ढुंगानाले लगानीकर्ताहरूको हितमा काम नगरिरहेको, बैंकलाई ब्रोकर लाइसेन्सदेखि ब्रोकरको छुट्टै टीएमएस दिनेलगायत काम नगरेको आरोप थियो। त्यतिमात्र होइन, ठूला लगानीकर्ताहरूको पहुँचमा रहेका ढुंगानाले साना लगानीकर्तालाई सधैँ उपेक्षा गरेको आरोप पनि लागेको थियो।

रिक्त भएको तीन महिनापछि बोर्ड अध्यक्षमा आए रमेश कुमार हमाल। साना लगानीकर्ताको हितमा काम गर्न आएको भन्दै उनले आफ्नो जिम्मेवारी सम्हाले। विशेषगरी प्रधानमन्त्री पत्नी आरजू राणाको 'आर्शिवाद प्राप्त' हमालले अनुभवी मानिएका कृष्णप्रसाद पोखरेल र बोर्डकै कार्यकारी निर्देशक निरज गिरीलाई पन्छाएर जिम्मेवारी पाएका थिए। उनले बोर्डमा पदभार सम्हाल्दै गर्दा भनेका थिए- ‘मेरो समय छोटो छ, मैले गर्ने काम धेरै छ। अब म छिटोभन्दा छिटो बजारलाई सुधार गर्छु।’

तीनै हमालले गएको शुक्रबार 'परिपक्व पुँजी बजार सम्मेलन'मा पनि तीनै कुरा दोहोर्‍याए। उनले रियल सेक्टरलाई सेयर बजारमा ल्याउनका लागि एकमात्र विकल्प बुक बिल्डिङ भएको बताए।

पुँजी बजारमा सेक्टरल डाइभर्सिटीका लागि बुक बिल्डिङलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए। ‘पुरानो घटनाले बुक विल्डिङमा गलत न्यारेटिभ स्थापित भयो, दाग लाग्यो। उचित उदाहरणबाट बुक बिल्डिङ ठीक हो भन्ने स्थापित गराउनु छ र त्यो चुनौतीलाई नियामक निकायले चिर्नुपर्ने अवस्था आएको छ’ हमालले भने। 

दोस्रो बजारमा मार्केट मेकरको सहभागिता हुन नसकेकोप्रति कमजोरी औल्याउँदै उनले मार्केट डिलरको आवश्यकता रहेको बताए। ‘मेरो कार्यकाल छोटो छ, गर्नुपर्ने सुधारका काम धेरै छन् त्यसैले नीतिगत कुराहरूदेखि अनेक समस्यालाई यो छोटो समयमा सम्पन्न गर्नु छ’ हमालले भने।

नेपालमा वित्तीय साक्षरता १८ प्रतिशतमात्र रहेको तीतो यथार्थ प्रस्तुत गर्दै ७० प्रतिशत नागरिक शिक्षित हुँदा १८ प्रतिशतमा मात्र वित्तीय साक्षरताको अवस्था रहेको हमालले बताए। हमाल भन्छन्, ‘लगानीकर्ताहरूमा सेयर साक्षरता एकदम कम छ, साक्षरता नभएर सामाजिक सञ्जालका स-साना हल्लाले बजारमा उतारचढाव आउने गरेको छ जुन अहिले निकै चुनौती बन्न पुगेको  छ।’ 

कामभन्दा चर्चा धेरै 

म काम गर्न आएको हुँ भन्ने हमाल यतिबेला देखिनेगरी कुनै काम राम्रोसँग गरेको देखिँदैन। साना लगानीकर्ताहरू बजार घटेर प्यानिक बनिरहेका छन्। उनको पदभार ग्रहणगरेदेखि नै बजार घटिरहेको छ।

लगानीकर्ताको संख्यामात्र थपिइरहँदा बोर्ड यतिबेला संख्या मात्र गनेर बसेको छ। राफसाफ कोष अन्योलमा छ। बैंकलाई दिने भनिएको ब्रोकर लाइसेन्सका कुनै विषय अगाडि बढ्न सकेको छैन। भित्री कारोबारलाई पारदर्शी बनाउने उनको लक्ष्य पनि देखिएको छैन।


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend