बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अघिल्लो बुलमा ३८०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २६ २०७९
अघिल्लो बुलमा ३८०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो

काठमाडौं- अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंक गतवर्षको बुलमा लगानीकर्ताको रोजाइमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य ५ वर्षयताकै सस्तो भएको छ।

अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य आइतबार ४९५ रुपैयाँमा झरेको छ। ५२ हप्ता अगाडि ८११ रुपैयाँसम्म रहेको थियो। सेयर बजार १२०० को बिन्दुमा रहँदासमेत एभरेष्ट र्बैंकको सेयर मूल्य १२०० रुपैयाँबाट तल झरेको थिएन। त्यसयता लगातार घटेको सेयर मूल्य अहिले ५ वर्षयताकै कम भएको छ। 

ebl.PNG

अघिल्लो बुलमा प्रतिसेयर ३८ सय रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

पुँजी वृद्धि योजनापछि बैंकको प्रतिसेयर आम्दानी घटेको छ। साथै लाभांश दरमा पनि भारी गिरावट भएको छ। प्रतिसेयर आम्दानीको असर बैंकले दिने लाभांशमा प्रत्यक्ष परेको हो। आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले गत आर्थिक वर्षमा १०.५३ प्रतिशतमा टार्यो। यसले गर्दा पनि सेयरधनीहरूको आकर्षण नदेखिएको हो। 

यस वर्ष बैंकले उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। भारतको पञ्जाव नेशनल बैंकको प्रमुख सेयरधनी रहेको बैंकको रणनीतिक व्यवस्थापन पञ्जाव नेशनलले नै गर्छ। बैंकले अन्य बैंकहरूसँग पहिलाको जस्तै गरी प्रतिस्पर्धा गर्न सकेको छैन। त्यसले गर्दा पनि वित्तीय अवस्थामा अन्य कम्पनीलाई उछिन्न नसकेको हो। 

बैंकले गत वर्ष क्षमताभन्दा धेरै कम लाभांश दिएका कारण बैंकको जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ। जबकी बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकले गएको आर्थिक वर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिएको थियो।  

बैंक सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको नाफाबाट चुक्ता पुँजीको  ४.३२ प्रतिशत नगद लाभांश दिएको थियो। त्यस्तै ६ प्रतिशत सेयर लाभांश दिएको थियो। 


प्रकाशित : सोमबार, वैशाख २६ २०७९००:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend