आइतबार, असोज ६ गते २०८१    
images
images

नदी सभ्यताका लागि सफाइलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
images
images
नदी सभ्यताका लागि सफाइलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

'कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनःप्रयोग गरी मोहर आर्जन गर्ने गरी महानगरपालिकाले नीति निर्माण गर्ने योजना'

images
images

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले नदी सभ्यताको सफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

images
images
images

बागमती सफाइ महाअभियानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिका नगरप्रमुख पदका लागि नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले फोहरलाई घरबाटै वर्गीकरण गरेर नदीसम्म जान नदिने प्रतिबद्धता जनाइन्। कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनःप्रयोग गरी मोहर आर्जन गर्ने गरी महानगरपालिकाले नीति निर्माण गर्ने उनको योजना छ।

ढल व्यवस्थापन, वृक्षरोपण, नदी किनारलगायत सार्वजनिक जग्गाको संरक्षणलाई पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो। पाँच दलीय गठबन्धनले सांस्कृतिक सहरका रुपमा परिचित काठमाडौंका सम्पदाको संरक्षणमा पनि काम गर्ने प्रतिबद्धता जनाएको छ।

नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार केशव स्थापितले उपत्यकामा भित्रने सवारीलाई नाकामै सफाइ गरेर मात्र प्रवेश गर्ने कानुनी व्यवस्था गरी सफाइका लागि काम गर्ने बताए। दुई हजार महिला स्वयंसेवक परिचालन गरेर राजधानीका नदी एवं सहर सफाइमा काम गर्ने उनको भनाइ थियो। यसअघि आफूले राजधानीका नदी सफाइ गर्ने सन्दर्भमा गरेको अध्ययन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि नेता स्थापितको थियो।

images

महानगरपालिकामा विवेकशील साझा पार्टीका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार समीक्षा बाँस्कोटाले आफू नगरप्रमुखको पदमा पुगेपछि पहिलो काम नै फोहर व्यवस्थापन गर्नमा लगाउने बताइन्। प्लाष्टिक कम प्रयोग गर्ने गरी महानगरमा नीति निर्माण गरिने उनको भनाइ थियो। 

यसैगरी काठमाडौं महानगरपालिकाकै नगरप्रमुख पदका उम्मेदवार सुशील थापा र उपप्रमुख पदका उम्मेदवार रिंकु श्रेष्ठले अरु देशमा खुला स्थानमा थुक्दा पनि कारबाही हुने सुनाउँदै महानगरमा पनि त्यो व्यवस्था कार्यान्वयन गराउने प्रतिबद्धता जनाए। महानगरपालिकामा नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार रविकान्त मानन्धरले पानी र ढलको व्यवस्थापन एक अर्कामा अन्तर सम्बन्धित रहेकाले दुवैको व्यवस्थापनमा काम गर्ने आफ्नो कार्यक्रम सुनाए।

ललितपुर महानगरपालिका नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले व्यक्ति व्यक्तिलाई सफाइ शिक्षा दिएर नदी सफाइका लागि जागरण ल्याउने बताए। कार्यक्रममा काठमाडौं उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारलाई बोलाइएको जानकारी आयोजकले गराएपनि अरु पालिकाका उम्मेदवार भने आएनन्।

सो अवसरमा पूर्व मुख्य सचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा हालसम्म २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको जानकारी दिए। महाअभियानमा १५ लाख स्वयंसेवकले सहभागी भएर सफाइ गरिसकेको जनाइएको छ। महाअभियान नौ वर्ष पूरा गरी १० वर्षमा प्रवेश गर्न लागेको जानकारी पनि सो अवसरमा गराइएको थियो। रासस


प्रकाशित : आइतबार, वैशाख २५ २०७९१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend