आइतबार, असोज ६ गते २०८१    
images
images

पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
images
images
पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि माग गरेका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो।

images
images

काठमाडौं- सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौंदेखि पुनःनिर्माण हुन सकेको छैन।

images
images
images

भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो। भूकम्पपछि त भवनका धेरै संरचना क्षत्विक्षत भएका छन्। भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोना महामारी अघि नै बनाउने तयारी भएको थियो। तर  महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि-फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउँछिन्।

भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमासमेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन। प्राधिकरणले गत पुसमै छवर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ। प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) पनि सँगै जोडिएको विभाग परिसरमै रहेको छ। तर पनि अझै केन्द्रको क्षतिग्रस्त भवन बन्ने/नबन्ने निश्चित छैन।

केन्द्रको जग्गालाई नेपाल प्रहरीलगायत विभिन्न निकायले माग गरेका कारण पनि भवन पुनःनिर्माणमा ढिलाइ भएको बताइएको छ। सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि माग गरेका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौँलागाईंले बताए।
  
भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग ६९ करोड रुपैयाँ माग गरिएको छ। आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थ मन्त्रालय जाने क्रममा रहेको जनाइएको छ। भूमिगत पार्किङसहित सात तले भवनका लािग माटो परीक्षण र ड्रइङ, डिजाइनको काम पनि सकिएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो भवन निर्माणले प्राथमिकता पाउने आशमा यहाँ कार्यरत कर्मचारी रहेका छन्।

images

केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालीम दिन्छ। केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो। जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ। १०० वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनःनिर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ। 
  
राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो। अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागका इञ्जिनीयर निशा केसीले बताए। अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरुपमा बन्ने गरी डिजाइन गरिएको उनले सुनाए। 

प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता

पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले राससलाई जानकारी दिए। विसं २०१९ मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो। 
 
राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो। २०७२ साल वैशाख १२ गतेको भूकम्प अघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । २०७० सालमा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो।
 
भूकम्पले पूर्णरुपमा क्षति भएको सात वर्ष बित्दा पनि भवन बनाउन कसैको ध्यान जान सकेन। प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीनतले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि-फ्याब भवनमा सञ्चालन भइरहेको छ। भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताए। 

भवनमा स्थान अभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ। सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन। सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो। 
 
केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएको छ। भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ। हुलाक सेवा विभाग, सूचना प्रविधि विभागलगायत कार्यालय नयाँ बन्ने भवनमा रहनेबारेमा हाल छलफल चलिरहेको जनाइएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०७:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend