आइतबार, असोज ६ गते २०८१    
images
images

वीरेन्द्रनगरको मुख्य चुनावी मुद्दा खानेपानी

images
शनिबार, वैशाख २४ २०७९
images
images
वीरेन्द्रनगरको मुख्य चुनावी मुद्दा खानेपानी

आफुले चुनेका जनप्रतिनिधिले इमान्दारपूर्वक जनताका समस्या समाधानमा पहल गर्लान भन्ने अपेक्षा लिएका नगरवासीले यसपटक घरदैलोमा आएका उम्मेदवारहरूलाई आक्रोश मिश्रित अभिव्यक्ति सुनाइरहेका छन्।

images
images

कर्णाली- प्रचण्ड गर्मीमा स्थानीय तह निर्वाचनले वीरेन्द्रनगर थप तातेको छ। पार्टीका चुनावी प्रचार अभियानहरू घरदैलोसम्म पुगेका छन्। उम्मेदवारलाई यतिबेला भोट माग्न भ्याइनभ्याइ छ। भोट माग्ने उम्मेदवारका लागि चुनौतीपूर्ण एउटै माग छ, खानेपानीको समस्या। अघिल्ला निर्वाचनमा वीरेन्द्रनगरबासीको आवाज थियो, 'अब खानेपानी समस्या एजेण्डामात्र नबनोस्। समाधान पनि होस्।' तर त्यो आशा पनि निराशामै परिणत भयो। अन्ततः यसपटक पनि तिनै दल र उम्मेदवारले खानेपानीकै विषयमा मतदाताबाट गाली सहनुपरेको छ।

images
images
images

निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल बिताउँदै गर्दा वीरेन्द्रनगरमा खानेपानी संकट झन् चुलिएको छ। वीरेन्द्रनगर-९ लाटीकोइलीका राजबहादुर सिंहलाई २० वर्षपछि जनप्रतिनिधि आउँदा खानेपानी समस्या समाधान होला भन्ने लागेको थियो। 'पानीको समस्या ज्यूका त्युँ होला भन्ने लागेको थिएन, हप्तामा एकपटक पनि धारामा पाइन देख्न नपाइने भो,' उनले भने, 'नेतालाई चुनावमात्रै लाग्छ, जितेपछि खानेपानीजस्तो आधारभूत समस्या समाधानमा चासो देखिन्न।' 

राजबहादुर जस्तै वीरेन्द्रनगरका आम मतदाताको गुनासो पनि यही हो। आफुले चुनेका जनप्रतिनिधिले इमान्दारपूर्वक जनताका समस्या समाधानमा पहल गर्लान भन्ने अपेक्षा लिएका नगरवासीले यसपटक घरदैलोमा आएका उम्मेदवारहरूलाई आक्रोश मिश्रित अभिव्यक्ति सुनाइरहेका छन्।
 
सुर्खेत उपत्यकामा पानीको चरम संकट भइरहने हुँदा हरेक चुनावमा यहाँ ‘पानी राजनीति’ चल्ने गर्दछ। २०७४ मै जस्तो सबै दलको घोषणापत्रमा एउटै कुरा दोहोरिएको छ,- 'वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्ने। भेरी लिफिट्ङ आयोजना तोकिएको समयमै सम्पन्न गर्न पहल गर्ने।' मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरूले खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाए पनि उनीहरूका आश्वासन मतदाताले पत्याएका छैनन्।

'बस्ती बस्न सुरु भएदेखि यहाँको मुख्य समस्या खानेपानी नै हो। अहिलेसम्म समस्या ज्यूका त्युँ छ', वीरेन्द्रनगर-६ निवासी ६५ वर्षीय रामलाल गौतमले भने, 'अहिले पनि खानेपानी माग फेरिएको छैन, पानी खुवाउने जनप्रतिनिधि खोज्दै वर्षौँ बित्ने भयो।'

images

वीरेन्द्रनगर प्रदेश राजधानी सहर भएकाले वर्षेनि जनघनत्व बढ्दो छ। माग र आपूर्तिको सन्तुलन मिलाउन यहाँ खानेपानीमा आलोपालो प्रणाली लागु गरिएको छ। खानेपानी आपूर्ति व्यवस्थापनको जिम्मेवारी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले लिएको छ। संस्थाका अनुसार अहिलेको गर्मीयाममा पानीको स्रोतमै कमी आएपछि ९६ घण्टामा एकपटक उपभोक्ताको धारामा पानी वितरण गर्ने गरिएको छ। संस्थाले २० हजार धारामार्फत खानेपानी वितरण गरिरहेको छ भने करिब पाँच हजार धाराका लागि उपभोक्ताका निवेदन छन्।
 
नेपाली कांग्रेस र माओवादी केन्द्रबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका उपेन्द्र खड्काले मतदाताहरूले खानेपानी आपूर्तिलाई लिएर असन्तुष्टि पोख्ने गरेको बताए। 'सबैले पानीका दुःख मात्रै सुनाउँछन्, पानीको दीर्घकालिन समाधानका लागि भेरी लिफ्टिङ आयोजना कार्यान्वयनका लागि सम्झौता प्रक्रिया अघि बढेपनि तत्काल समाधानका लागि आपूर्ति चुहावट रोक्न, वैकल्पिक मुहानबाट पानी स्रोत बढाउन आफूले पहल गर्ने बताउने गरेको छु', खड्काले भने।  

एमाले उम्मेदवार मोहनमाया ढकाल पनि सबैतिर खानेपानी समस्या समाधानकै विषय उठ्ने गरेको बताए। निवर्तमान नगर उपऔप्रमुख ढकालले दीर्घकालिन समाधानका लागि संघीय खानेपानी मन्त्रालय र विश्व बैंकको सहयोगमा सम्झौता भई निर्माण पूर्वका तयारी भइरहेको बताउँदै भने, 'परिणाम देखिन त केही वर्ष लाग्छ, पहिला भएकै पानीलाई समान रुपले वितरण गर्छौँ।'
 
राप्रपा उम्मेदवार मुकुन्दश्याम गिरीले कांग्रेसऔएमालेले जनताको समस्या समाधान गर्नुको साटो अनावश्यक समय खेर फालेको बताए। २०४३ मा तत्कालीन लाटीकोइली गाउँ प्रधानपञ्च, २०६१ सालमा नगर प्रमुखका रूपमा अनुभव संगालेभएका उनले आफ्नै पालामा खानेपानी लाइन वितरण भएको र त्यसयता कुनै उल्लेख्य विकास हुन नसकेको टिप्पणी गरे। रासस


प्रकाशित : शनिबार, वैशाख २४ २०७९११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend