बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा साताभर ओरालो यात्रा, अझै घट्ने चर्चाले विश्वस्त छैनन् लगानीकर्ता

तीन दिनकै कारोबारमा ११७ अंकको गिरावट

बिहीबार , वैशाख २२ २०७९
सेयर बजारमा साताभर ओरालो यात्रा, अझै घट्ने चर्चाले विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- गएको साता एक दिनको उछालले थामिएको सेयर बजारमा यो साता कारोबारको सबै दिन गिरावट आएको छ। यो साता तीन दिनको कारोबारमा बजारमा ११७.५५ अंकको गिरावट देखियो। 

चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा कुनै प्रभाव देखिएको छैन। बजार निरन्तर घट्दो क्रममा नै देखिएको छ।अझै गिरावट आउने चर्चा भइरहँदा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

यो साता आइतबार बन्द रहेको सेयर बजार सोमबार ४८.७३ अंकले घटेको थियो। मंगलबार पुन: बन्द रहेको कारोबार बुधबार पनि घट्दो क्रममा नै रह्यो। बुधबार ३१.७६ अंकले घटेर बजार २२७५.६८ बिन्दुमा झरेको छ। बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ मा झरेको छ। बिहीबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। 

गत साता बिहीबार १९.९७ अंकले घटेर बजार २३५६.२० बिन्दुमा झरेको थियो। गत साताभरको कारोबारमा ३०.६९ अंकको वृद्धि भएको थियो। गत साताको आइतबार ९५.४६ अंकले बढेकोले साताभरको अवस्था थामिएको थियो। तर यो साता अपेक्षाकृत सुधार सेयर बजारमा देखिन सकेको छैन। 

अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहेको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। विश्लेषकहरूले सेयर बजारलाई अर्थतन्त्रमा हुने तलमाथि पनि प्रभाव हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। सेयर बजार घटेर २२ सयको बिन्दुमा पुगिसकेको छ।

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक त्यस्तो हुन सकेको छैन। चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन।

चुनाव नजिकिँदै गएपछि बैंकबाट निक्षेप निकाल्ने क्रमपनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहोल बनेसँगै बैंकहरूबाट १८ अर्ब रुपैयाँ बाहिरिएको छ। २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा १८ अर्ब झिकिएको राष्ट्र बैंकले जनाएको छ।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउँदा पनि सेयर बजार भने बढ्न सकेको छैन। नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि कार्यन्वयनमा ल्याइएको थियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागु गरेको हो। संशोधित कार्यविधिमा दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा पाउने छन्। 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend