बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजार पाँच महिनायताकै न्यून बिन्दुमा, अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउने संकेत

बिहीबार , वैशाख २२ २०७९
सेयर बजार पाँच महिनायताकै न्यून बिन्दुमा, अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउने संकेत

काठमाडौं- सेयर बजारमा पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ। बुधबर बजार ३१.७६ अंकले घट्दा २२७५.६८ बिन्दुमा आइपुगेको छ।

घट्दो ट्रेण्डमा बजार गएपछि सेयर बजार सुस्ताएको छ भने लगानीकर्ताहरु बाहिरिन थालेका छन्। उच्च अंकबाट ९२४ अंकले झर्दासमेत विश्लेषकहरुले अझै पनि बढ्छ भन्दै भ्रममा पार्ने गरेका छन्। जसका कारण साना लगानीकर्ताहरुको अर्बौं रुपैयाँ गुमिसकेको छ। 

सेयर बजारको घट्दो ट्रेण्डले अघिल्लो बुल १८०० को बिन्दु पछ्याउन थालेको विश्लेषण हुन थालेको छ। नेप्से परिसूचक २०७८ मंसिर २७ गते २२८१.६७ बिन्दुसम्म झरेको थियो। बुधवार उक्त बिन्दुबाट पनि तल झरेको हो। यो बिन्दुपछि फर्किएर पुनः २९०० को बिन्दुमा सेयर बजार पुगेको थियो। त्यसपछि पुनः लगातार घटेर सेयर बजार २२७५ मा आइपुगेको छ। विश्लेषकहरुले विगतमा झै पुनः बजार फर्किएर २९०० मा पुग्न नसक्ने बताउँदै आएका छन्। 

नेप्से परिसूचक गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा रहेको थियो। 

बैंकका तरलता संकट कायमै

चुनाव नजिकिँदै गएपछि बैंकबाट निक्षेप निकाल्ने क्रम पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहोल बनेसँगै बैंकहरूबाट १८ अर्ब रुपैयाँ बाहिरिएको छ। २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा १८ अर्ब झिकिएको राष्ट्र बैंकले जनाएको छ।

एकसातामा वाणिज्य बैंकहरुमा निक्षेप एक अर्ब रुपैयाँ मात्रै थपिएको छ। गत बैशाख ९ देखि १६ गतेसम्म बैंकहरुमा निक्षेप एक अर्ब मात्रै थपिएको हो।

गत बैशाख ९ गतेसम्म ४३ खर्ब ६७ अर्ब निक्षेप रहेकोमा बैशाख १६ सम्म आइपुग्दा ४३ खर्ब ६८ अर्ब निक्षेप पुगेको हो। बैंकहरुको ऋण प्रवाह भने ३ अर्ब रुपैयाँ गरेका छन्। बैशाख ९ देखि १६ सम्मको अवधीमा ३ अर्ब कर्जा बढेको हो। गत बैशाख ९ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा बैशाख १६ सम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। 

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहिरहेको छ। चर्को ब्यजदारले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण दिनहुँ बजार घट्दो क्रममा रहेको छ। 

मर्जिन सुविधाले पनि बढेन बजार 

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउँदा पनि सेयर बजार भने बढ्न सकेको छैन। नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि कार्यन्वयनमा ल्याइएको थियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागु गरेको हो।

संशोधित कार्यविधिमा दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा पाउने छन्। 

व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय २० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो को ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था गरिएको छ। तर पनि सेयर बजारमा पनि प्रभाव देखिएको छैन। 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend