आइतबार, मंसिर ९ गते २०८१    
images
images

चुनावी प्रभावले छोएन सेयर बजारलाई, घट्दो क्रम रोकिएला या २००० तिरै झर्ला?

images
बुधबार, वैशाख २१ २०७९
images
images
चुनावी प्रभावले छोएन सेयर बजारलाई, घट्दो क्रम रोकिएला या २००० तिरै झर्ला?
images
images

काठमाडौं- चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा कुनै प्रभाव देखिएको छैन। बजार निरन्तर घट्दो क्रममा नै देखिएको छ।

images
images
images

यो साता आइतबार बन्द रहेको सेयर बजार सोमबार ४८.७३ अंकले घटेको थियो। मंगलबार पुन: बन्द रहेको कारोबार बुधबार पनि घट्दो क्रममा नै रह्यो। बुधबार ३१.७६ अंकले घटेर बजार २२७५.६८ बिन्दुमा झरेको छ। बुधबार १ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ १५ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ सय ७७ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

images

अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहेको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। विश्लेषकहरूले सेयर बजारलाई अर्थतन्त्रमा हुने तलमाथि पनि प्रभाव हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। सेयर बजार घटेर २२ सयको बिन्दुमा पुगिसकेको छ।

images

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक त्यस्तो हुन सकेको छैन। चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन।

चुनाव नजिकिँदै गएपछि बैंकबाट निक्षेप निकाल्ने क्रमपनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहोल बनेसँगै बैंकहरूबाट १८ अर्ब रुपैयाँ बाहिरिएको छ। २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा १८ अर्ब झिकिएको राष्ट्र बैंकले जनाएको छ।

गत साता बिहीबार १९.९७ अंकले घटेर बजार २३५६.२० बिन्दुमा झरेको थियो। गत साताभरको कारोबारमा ३०.६९ अंकको वृद्धि भएको थियो। गत साताको आइतबार ९५.४६ अंकले बढेकोले साताभरको अवस्था थामिएको थियो। तर यो साता अपेक्षाकृत सुधार सेयर बजारमा देखिन सकेको छैन। 

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : बुधबार, वैशाख २१ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend