बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अर्थमन्त्री र गभर्नरको लडाइँले सेयर बजार प्रभावित, सर्वोच्चको फैसलापछि अब बजार बढ्ला कि घट्ला?

सोमबार, वैशाख १९ २०७९
अर्थमन्त्री र गभर्नरको लडाइँले सेयर बजार प्रभावित, सर्वोच्चको फैसलापछि अब बजार बढ्ला कि घट्ला?

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएको छ। 

बैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि मुद्दाको किनारा नलागेसम्म गभर्नर अधिकारीले निर्वाध काम गर्ने पाउने छन्। योसँगै सेयर बजारमा अब के होला भन्ने चासो बढेको छ। 

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीको लडाइँको चेपुवामा सेयर बजार परेको छ। जसका कारण लगानीकर्ताहरूको मनोबल मात्रै गिरेको छैन, कतिपय लगानीकर्ता सेयर बजारबाट बहिरिनसमेत थालेका छन्। ३१९९ को उच्च अंकबाट सेयर मूल्य अहिले ८४२.२० अंकले घटेर २३५६.२० बिन्दुमा आइपुगेको छ। 

अझै बजार कति घट्छ टुंगो छैन। विश्लेषकहरूका अनुसार अर्थतन्त्रको गम्भीर अवस्थामा रहँदा अर्थमन्त्री र गभर्नरको लडाइँले सेयर बजारसमेत प्रभावित भएको अनुमान गरिएको छ। अब सर्वोच्चको फैसलाले नियमकको सर्वोच्चतामाथि सरकारको हस्तक्षेप अस्वीकार्य हुने फैसलाले अब सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। 

कस्तो भयो गत साता? 

चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन। गत बुधबार ५.१७ अंकले बढेको सेयर बजारमा सातामा कारोबारको अन्तिम दिन बिहीबार गिरावट देखिएको थियो। बिहीबार १९.९७ अंकले घटेर बजार २३५६.२० बिन्दुमा झरेको छ।

बिहीबार १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो। जहाँ १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्य बढेको छ। ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

nepse weeks 1.PNG

गत साताको अन्तिम दिन बिहीबार ४.९० अंकले बढेर २३२५.४५ बिन्दुमा रोकिएको थियो। त्यसलाई आइतबारको कारोबारले थप साथ दिएको थियो। तर यो साता आइतबारको उछाललाई अन्य दिनको कारोबारले साथ दिन सकेन। आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। 

आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर रोकिएको थियो। सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा झरेको थियो। मंगलबार १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको थियो। बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको थियो। 

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९००:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend