आइतबार, असोज ६ गते २०८१    
images
images

श्रमिकको गुनासो- महङ्‍गी बढ्यो तर हाम्रो ज्याला बढेन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १८ २०७९
images
images
श्रमिकको गुनासो- महङ्‍गी बढ्यो तर हाम्रो ज्याला बढेन

सरकारले श्रमिक मजदूरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदूर असन्तुष्ट छन्।

images
images

रामपुर- पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन। दैनिक मजदूरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन। उनी आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसकेका छन्। 

images
images
images

दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका छन्। यसरी नै उनले करिब तीन दशक बिताए। श्रमिक दिवसको दिन पनि उनले आराम गर्ने समय पाएका छैनन्। उनी भन्छन्, 'श्रमिक दिवस भनेको के हो? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ।' उनी मजदूरी गरेवापत दैनिक ६ सय रुपैयाँ ज्याला बुझ्छन्। त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता छ।

सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदूरीमै व्यस्त छन्। बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्छन्। आइतबार परेको मजदूर दिवसबारे आफू पनि बेखबर रहेको उनले बताए। 'श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै पर्‍यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ-ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो', उनले भने।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याई छ। मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उनलाई जानकारी भए पनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको उनी बताउँछन्। यसैले आज पनि काममै ब्यस्त छन् उनी। उनी यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आएका छन्। उनको दैनिक ज्याला ७ सय ५० रुपैयाँ छ।

images

उनी भन्छन्, 'एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेरमात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिँदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै पर्‍यो।' श्रमिक दिवस मनाइरहँदा समयानुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उनको अनुरोध छ।

रामपुर नगरपालिका-७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। दैनिक आठ घण्टा खटेर काम गरेवापत ७ सय ५० रुपैयाँ ज्याला पाउँछन्। रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन।

सरकारले श्रमिक मजदूरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उनी गुनासो गर्छन्। चुनाव आएसँगै नेता, कार्यकर्ताले उनलाई धेरै आश्वासन पनि देखाए। तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदूरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उनी बताउँछन्। 'हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महङ्गी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुपर्‍यो, निरन्तर काम पाए भयो', उनले भने।

निस्दी गाउँपालिका-४ मित्यालका १७ वर्षीय खुमबहादुर खाम्चा आइतबार घरको गारो लगाउने, सिमेन्ट बोक्ने काममा व्यस्त देखिन्छन्। मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उनलाई भने दिनभर काम गरेको ज्यालाले घरमा बिहान-साँझ खाद्यान्नको जोहो पुग्छ भन्नेतिर मात्रै ध्यान छ।

पारिवारिक अवस्था नाजुक हुँदा कक्षा ६ मा अध्ययन गरिरहेका उनी बीचमै छाडेर विभिन्न ठाउँमा घर भवन, पुल पुलेसा, सडक निर्माणलगायतका क्षेत्रमा दैनिक मजदूरी गरी बुझेको ज्यालाबाट घर धान्नुपर्ने बाध्यता छ।

सरकारले श्रमिक मजदूरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदूर असन्तुष्ट छन्। राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ। उनीहरूको गुनासो छ- उहिलेको ज्याला अहिले छ, तर महङ्गीको हिसाब गर्ने हो भने दैनिक ज्यालाले खानलाउनै पुग्दैन।

आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनलाई उत्सवका रूपमा मनाइने पर्व हो आज। विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर मजदूर दिवस मनाइन्छ। तर खास मजदूरी गर्ने वर्ग भने यो दिवसबाट नेपालमै पनि बेखबर रहने गर्दछ।

देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने मजदूरहरू भने श्रममै रहन्छन् र बेखबर हुने गर्दछन्। यहाँका लाखौँ श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन्। त्यसैले यो वर्गका श्रमिकले आजका दिनको बिदा या सुविधा पाउँदैनन्। यसरी जसको अधिकारका लागि सरकारले सार्वजनिक बिदा नै दिएर पर्वको आयोजना गर्छन् ती श्रमिक आज पनि श्रममै रहन्छन्। रासस


प्रकाशित : आइतबार, वैशाख १८ २०७९०४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend