आइतबार, असोज ६ गते २०८१    
images
images

ऋण लिन आफ्नै नाममा जग्गा हुनुपर्ने नियमले उद्यम गर्न चाहने युवा हतोत्साही

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
images
images
ऋण लिन आफ्नै नाममा जग्गा हुनुपर्ने नियमले उद्यम गर्न चाहने युवा हतोत्साही

देश र समाजका लागि सेवा गर्ने भावना भएर पनि  काम गर्ने वातावरण नहुँदा युवा जमात विदेशिन परिरहेको छ।

images
images

पाल्पा- गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए र झण्डै १३ वर्ष पराइ भूमिमा बिताए। वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा गाउँमा छन्।

images
images
images

उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि उनलाई सुझेको छैन। घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनका लागि खर्च जुटाउन उनी विदेशिन बाध्य छन्। एक दशकभन्दा बढी परदेशको अनुभव बटुलेका उनलाई आफ्नै परिवारसँग बसेर स्वदेशमै व्यवसाय गर्ने धोको छ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो गर्न थालेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत आवश्यकता जोहो गर्ने योजनाका साथसाथै उनीहरुले युवा, ज्येष्ठ नागरिक, बालबालिका र महिलाका लागि पनि विभिन्न कल्याणकारी र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन्।

देश र समाजका लागि सेवा गर्ने भावना भएर पनि  काम गर्ने वातावरण नहुँदा युवा जमात विदेशिन परिरहेको छ। अब जनताबाट चुनिएर जाने जनप्रतिनिधिले युवा जमातका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रममार्फत गाउँमै स्वरोजगारको ढोका खोलिदिनुपर्ने श्रेष्ठ बताउँछन्।

images

उनी भन्छन्- 'निर्वाचनका बेला मत माग्ने निहुँमा आकर्षक योजना लिएर उम्मेदवारहरु घर घरमा आउँछन्,  जितेर गएपछि बिर्सन्छन्। कमसेकम खाडीमा जान बाध्य हामीजस्ता युवालाई गाउँमै बस्ने वातावरण बनाइदिए विदेशिन पर्ने थिएनन् नि।'

वैदेशिक रोजगारका लागि राहदानी बनाउने युवाको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। उनले थपे 'चुनावै पिच्छे नेताले युवालाई गाउँमै रोजगारी दिन्छौं भनेर भाषण दिन्छन्, सत्तामा पुगेपछि बोले अनुसार काम गरेको पाइँदैन। रोजगारीका लागि विदेश जानै पर्ने अवस्था छ। गाउँमै रोजगारीका यथेष्ट अवसर भइदिए विदेशिने छैनन्। स्थानीय सरकारले अब युवामुखी कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्नेछ।'

गएको पाँच वर्षको अवधिमा स्थानीय सरकारले सोचे अनुसार युवाका लागि काम गर्न नसकेको असन्तुष्टि यहाँका युवामा छ। केही गर्छु भन्ने जोश भएका युवालाई व्यापार वा व्यवसाय गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिए विदेश पलायन हुने स्थिति नआउने उनको भनाइ छ। अब चुनिएर आउने नेताले जनमतको कदर गर्दै राहदानी बनाउन लामबद्ध युवालाई खाडीमा जानबाट रोक्न गाउँमै रोजगारको आधार खडा गरिदिनुपर्नेमा युवा जमातको जोड छ।

विकास निर्माणका काममा पारदर्शिता कायम गर्न चुस्त अनुगमन र निरन्तर खबरदारी हुनुपर्ने उनीहरु बताउँछन्। विगतमा व्यावसायिक दक्षता र संभावनालाई हेरेर भन्दा व्यक्ति हेरेर सहयोग गर्ने प्रवृत्ति स्थानीय तहमा हाबी भएको स्थानीय युवा कमल पाण्डेय गुनासो गर्छन्।

विदेशबाट फर्केर गाउँमै केही गरौँ भन्ने अठोट बोकेर केही युवाले पछिल्लो समय गाउँमै विभिन्न उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा ल्याएका छन्। ती युवालाई व्यवसाय वर्गीकरणका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्ने पाण्डेयको माग छ। 

रामपुर नगरपालिकाले कृषि र पशुपालनका साथै अन्य उद्यम र पेशा व्यवसायमा आबद्ध युवालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आम धारणा छ।

'व्यवसाय गर्छु भन्नेका लागि स्थानीय सरकारले सहुलियत रुपमा लगानी गरिदिनुपर्‍यो, सबैले एकै खालको व्यवसाय गरेर मात्रै पनि हुँदैन, ठाउँ र युवाको रुची अनुसारको व्यवसाय गर्ने युवालाई लगानीमा केही सहुलियत भइदिए  गाउँमै युवाले उद्यम गर्नेछन्,' उनले भने।

स्थानीय सरकारले ल्याएका युवा लक्ष्यित कार्यक्रममा पहुँचवालाकै बोलवाला बढी हुने गरेको गुनासो सुन्न पाइन्छ। कतिपय पालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि अनिवार्य धितो राख्नुपर्ने व्यवस्थाले युवालाई हतोत्साही बनाएको छ। 

जग्गाधनी प्रमाणपत्र धितो राखेर मात्रै सहुलियतमा ऋण पाउने व्यवस्थाले यसप्रति युवाको आकर्षण घटेको बताउँछन्, मेघराज न्यौपाने। उनी पनि करिव तीन वर्ष विदेश बसेर स्वदेश फर्किएका हुन्। अहिले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।

उनी भन्छन्- 'रामपुर नगरपालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रम अत्यन्तै राम्रो छ तर, सो कार्यक्रममा सहभागी हुन जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा चाहिंदो रहेछ। आफ्नो नाममा केही छैन, यसले अप्ठ्यारो पारेको छ। जग्गा नभएकाहरु पनि यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था अब चुनिएर आउने जनप्रतिनिधिले गर्नुपर्छ।'  

गाउँघरमा उपलब्ध स्रोत र साधनको सही उपयोग हुन सकिरहेको छैन। स्थानीय स्रोत र साधन उपयोग गरी उद्योग चलाउन चाहने युवालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्छ। ऋण प्रक्रिया झण्झटपूर्ण हुनुहुन्न। गाउँघरका युवालाई उद्यमशील र स्वावलम्बी बनाउने योजनाको खाँचो रहेको युवा ओमप्रकाश रेग्मी बताउँछन्।

एक अनौपचारिक अध्ययन अनुसार नेपालमा वर्षेनी छ देखि सात लाख युवा विदेश जान्छन्। आफ्नो देशमा राम्रो काम नपाएर अथवा मेहनत अनुसार पारिश्रमिक नभएर युवा वैदेशिक रोजगारतर्फ आकर्षित हुँदै गएका छन्। वैदेशिक रोजगारीमा गएपनि कतिपय युवा सन्तुष्ट छैनन्, परिवारसँगै बसेर स्वदेशमै केही गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा राख्छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend