आइतबार, असोज ६ गते २०८१    
images
images

युवा मतदाता भन्दछन् : निःशुल्क शिक्षा र रोजगारी चाहियो

images
बुधबार, वैशाख १४ २०७९
images
images
युवा मतदाता भन्दछन् : निःशुल्क शिक्षा र रोजगारी चाहियो

कागेश्वरी मनोहरा नगरपालिकाका विजय ढकाल पहिलो पटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा प्रस्ट पार्छन्।

images
images

काठमाडाैं- राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकांक्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरुले भने उम्मेदवारसँग उनीहरुको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क हुनुपर्ने र रोजगारी अवसरमा उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन्। 

images
images
images

गाउँपालिका वा नगरका पदाधिकारीका उम्मेदवारहरुले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ। दलहरुका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन्। नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलो पटक मतदान गर्न लागेका युवाहरु अपेक्षित उत्साह नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत भएको पाइएको छ। 

काठमाडौँ उपत्यकाका पालिकामा मतदान गर्न लागेको युवा मतदाता र उपत्यकाबाहिर पनि निर्वाचनका लागि जान लागेकासँग कुरा गर्दा उनीहरुमा उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए। पहिलो पटक मतदानमा सहभागी हुन लागेका कतिपय युवा जोसुकै जिते पनि फरक पर्दैन भन्ने भए पनि आफूले सोचेर र बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै छन्। पाका उमेरका मानिसले विगतमा के के काम गर्‍यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाहरुले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ। 

कागेश्वरी मनोहरा नगरपालिकाका विजय ढकाल पहिलो पटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा प्रस्ट पार्छन्। उम्मेदवारमध्ये पनि युवा व्यक्ति र कुनै न कुनै क्षेत्रमा ज्ञान हासिल गरेको र केही गर्छु भन्ने योजना भएको व्यक्ति छान्ने उनको भनाइ छ।

images

प्राविधिक शिक्षाको विकास गर्ने सबैले भने पनि ठोस रुपमा हुन नसकेकाले अब विजयी भएर आउने व्यक्तिले प्राविधिक शिक्षाको विकासका लागि लगानी बढाउनुपर्नेमा उनको जोड छ। 'नगरपालिका आफैँले लगानी गरेर कलेज खोल्नुपर्छ र रोजगारीका अवसर पनि बढाउनुपर्छ' उनले भने। 

आफूले परिवारको दबाबमा नभएर आफ्नो इच्छाअनुसार नै मतदान गर्ने ढकालले बताए। युवाहरुले पारिवारिक पार्टीभन्दा पनि को ठीक छ र कसले काम गर्नसक्छ भन्ने हेरेर मतदान गर्नुपर्नेमा उनको भनाइ छ। हजुरबुबा हजुरआमा जुन पार्टी बुबाआमा एउटै पार्टी र आफू पनि त्यही पार्टीमा भोट हाल्नुपर्छ भनेर परिवारले दबाब दिने प्रवृत्ति गलत भएको उनले औँल्याए। उनले भने, 'म सधैँ व्यक्ति हेरेर भोट हाल्छु। यो पटक एउटा पार्टीलाई दिए पनि अर्काे पटक अर्काेलाई दिनेछु।'

सल्यान बाघचौर नगरपालिकाकी समृद्धि खनाल पनि उत्साहका साथ पहिलो पटक मतदान गर्न घर जाँदै छिन्। अहिले स्नात्तकोत्तर (एमबीए) अध्ययनरत उनीले जुनसुकै दल वा व्यक्ति निर्वाचनमा विजयी भए पनि शिक्षाको विकासको ध्यान दिनुपर्नेमा जोड दिए। 

शिक्षा क्षेत्र सेवा भए पनि अहिले व्यवसाय भइसकेकाले नियम बनाएर जनप्रतिनिधिले सुधार्न सक्ने खनालले बताए। निजी कलेजहरु त्यसमा पनि प्राविधिक विषयमा अध्ययन गर्न महँगो भएकाले नगरपालिकाले नै लगानी बढाउनुपर्ने उनले बताए। आफू पनि बाध्यताले स्नाकोत्तर गरेपछि विदेश जाने सोचेको उनको भनाइ  छ। उनले भने, 'दुःख गरेपछि त्यहीअनुसारको अपेक्षा हुन्छ तर  पाइँदैन।' 

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिकाका नितेश थापाले अब विजयी हुने पदाधिकारीले शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृति विकास लगायतका सबै क्षेत्रमा विकासका लागि योजनावद्ध रुपमा लाग्नुपर्ने बताए। विकासको योजना बनाउँदादेखि नै युवालाई सहभागी गराउनुपर्नेमा उनको जोड छ। 

आसन्न निर्वाचनमा थापाले अपेक्षा गरेका विषयमा ध्यान दिने उम्मेदवार देखिएको छ। नयाँ सोच भएका र युवा व्यक्तिले केही गर्न चाहे पनि अधिकांशले नपत्याउने हुँदा जित्न गाह्रो पर्ने उनको भनाइ छ। कतिपयले पटक पटक आश्वासन दिएर पूरा नगरे पनि पत्याउने तर युवा र केही गर्छु भन्ने फरक सोचका मान्छेलाई सबैले नपत्याउने उनको भनाइ छ। 

जनकपुर उपमहानगरपालिकाका रितेश यादवले जनप्रतिनिधिले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए। कृषि विषयमा स्नातक गरिरहनुभएका उनी कृषि निर्भर देश भए पनि अहिलेसम्म कृषिको क्षेत्रमा योजनाबद्ध विकास हुन नसकेको बताए। परिवारले एकातिर भोट हाल्ने भए पनि आफू फरक ठाउँमा हाल्ने उनको भनाइ छ। बुबाआमाले आ-आफ्नो ठाउँबाट सोचेको व्यक्तिहरु आफूलाई सही नलागेको उनले बताए। उनले भने, 'अघिल्लो पुस्ताले अहिलेसम्म के के गर्‍यो हेर्नुहुन्छ तर हामी भविष्यमा के गर्नसक्छ भनी हेरेर भोट हाल्छौँ।'

स्थानीय निर्वाचनमा पार्टी हेरेर नभई व्यक्ति हेरेर भोट हाल्नुपर्नेमा यादवको आफूजस्तै आमयुवा मतदातालाई सुझाव छ। प्रदेश र प्रतिनिधिसभामा केन्द्र वा प्रदेशमा पुगेर नीति बनाउने वा सरकार बनाउने हुँदा पार्टी पनि हेर्नुपर्छ स्थानीय निर्वाचनमा भने जनताका काम गर्नसक्ने व्यक्ति को हो भनी हेर्नुपर्ने उनको भनाइ छ।

ललितपुर गोदावरी नगरपालिकाकी स्मृति महर्जन पहिलो पटक मतदान गर्न लागे पनि आफूले उम्मेदवारका बारेमा बुझेर मात्रै मतदान गर्ने बताए। पदाधिकारी, वडाध्यक्ष र सदस्यमा धेरै व्यक्ति उम्मेदवार भए पनि मिडिया वा सामाजिक सञ्जालमा थोरै व्यक्तिका बारेमा मात्रै आउँदा मतदाताको छनोट गर्न गाह्रो हुने बताए।

शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने र सबै लिंग, वर्ग, क्षेत्रलाई समेटेर उम्मेदवार बनाएको दललाई भोट हाल्ने उनको योजना छ। उनले भने, 'युवा, महिला, बालबालिकाको समस्या बुझेर समााधन गर्न सक्छु भन्ने मान्छे चाहिन्छ।'

निर्वाचनमा उम्मेदवार भएका व्यक्ति सकेसम्म भ्रष्टाचारको कुनै पनि मुद्दा नलागेको हुनुपर्नेमा महर्जनको जोड छ। आफूले लुटेर खाए पनि काम गर्ने मान्छे हुँदा राम्रो हुने उनको भनाइ छ। नगरपालिकाका बारेमा राम्रो सोच्ने मान्छे जितेर आओस् भन्ने उनको चाहना छ।  

निर्वाचन आयोगका अनुसार यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी छन्। तीमध्ये पछिल्लो पाँच वर्षमा थपिएका मतदाताको सङ्ख्या ३६ लाख ६९ हजार २९९  छ। रासस


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend