बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

देशभर चुनावी रौनक, सेयर बजारमा देखिएन उत्साह

बुधबार, वैशाख १४ २०७९
देशभर चुनावी रौनक, सेयर बजारमा देखिएन उत्साह

बुधबार २८ लाख ८५ हजार कित्त सेयर किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।

काठमाडौं- स्थानीय तह निर्वाचनको रौनक देशभर छाएको छ। आम जनता आफ्नो प्रतिनिधि चयनका लागि आतुर छन्। तर सेयर बजारमा भने उत्साह देखिको छैन। सेयर बजारमा निर्वाचनले समेत उत्साह ल्याउन सकेको छैन।

बजार घट्दो अवस्थामा नै छ। बुधबार पनि सेयर बजारमा झिनो अंकले सुधार आएको छ। मंगलबार पनि बजार घटेको थियो। मंगलबार १५.०२ अंकले घटेको बजार बुधबार भने झिन्नो अंकले मात्रै बढेको छ।

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको छ। कारोबार रकममा पनि कुनै उत्साह देखिएको छैन। बुधबार २८ लाख ८५ हजार कित्त सेयर किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। यो कारोबार रकम पछिल्लो समयको सबैभन्दा कम हो। 

सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिने अनुमान गरिएको थियो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको थियो।

सरकारले आज मात्रै असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेको छ। सरकारी निर्णयले समेत बजारमा कुनै उत्साह देखिएको छैनन्। वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो।

स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वासको साथै नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति सहितका विषयले पनि सेयर बजार बढ्ने अनुमान गरिएको थियो। यता ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारीले समेत सेयर बजार सकारात्मक हुने संकेत देखिनेमा लगानीकर्ता आशावादी थिए।


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend