शनिबार, मंसिर ८ गते २०८१    
images
images

आफैंले नियुक्त गरेका अधिकारीमाथि सात महिनामै श्रृखलावद्ध प्रश्न उठाउन थाले मन्त्री आले 

अपारदर्शी खर्चको 'नमुना' जाेडी

images
बुधबार, वैशाख १४ २०७९
images
images
आफैंले नियुक्त गरेका अधिकारीमाथि सात महिनामै श्रृखलावद्ध प्रश्न उठाउन थाले मन्त्री आले 

तर आले सात महिनामै आफैले विश्वास गरेर ल्याइएका पात्रप्रति निरन्तर प्रश्न गर्ने अवस्थामा पुगेका छन्। त्यो पनि संस्थाको हित विपरीत काम गरेको विषयलाई लिएर। 

images
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पछिल्लो एक महिनामै दुईवटा विषयमा स्पष्टीकरण सोधेका छन्। 

images
images
images

संस्थाको हित विपरीत हुने काम गरेको भन्दै आलेले अधिकारीसँग स्पष्टिकरण सोधेका हुन्। मन्त्रीको सचिवालयका अनुसार आलेले अधिकारीलाई पछिल्लो स्पष्टिकरण हालै भएको साउदी अरबको रियादको उडानको विषयसँग सम्बन्धित छ। 

images

नेपाल एयरलाइन्सले वाइडबडी जहाज किनेदेखि उडानको योजना बनेपनि अहिले आएर बल्ल साउदी अरब उडान सम्भव भएको छ। निगमको नेतृत्वमा पुगेका पछिल्लो पाँच जना व्यवस्थापक लागिपरेको साउदी उडान अधिकारीका पालमा  सफल भएको छ। 

images

नेपाली कामदारका लागि राम्रो रोजगार गन्तव्य भएपनि सिधा हवाइ उडान नहुँदा समस्या थियो। महंगो भाडादेखि लिएर झन्झटिलो यात्रासम्म नेपाली श्रमिकका लागि कठिन थियो। उडान सुरू हुँदा साउदीमा कार्यरत नेपाली  खुसी पनि भए। तर यही उडान सुरु हुँदा नेपाल एयरलाइन्सको एउटा कदम विवादित भयो। 

नेपाल एयरलाइन्स यसै पनि महाआर्थिक संकटमा छ। चालु पुँजीको अभाव हुने अवस्था आइसकेको संस्थामा गम्भीर आर्थिक संकट एकातिर छ भने अर्कोतिर देशले विदेशी मुद्राको अभाव खेपिरहेको छ। 

यही अवस्थामा नेपाल एयरलाइन्सको  काठमाडौं-रियाद उद्टान उडानमा चालिसजना अफिसियललाई घुमाएर ल्याएको छ। चार दिन साउदी अरबको सयर गराएर नेपाल एयरलाइन्सको टोली फर्किसकेको छ। मन्त्रालयका कर्मचारी, नेपाल एयरलाइन्सकका कर्मचारी, ट्राभल एजेन्ट, उद्योगी व्यवसयी र पत्रकार मात्र होइन राजनीतिक दलका नेतासमेत उक्त भ्रमणमा सहभागी थिए। 

यो सबै खर्च नेपाल एयरलाइन्सकै हो। अधिकारीले किन र कसका लागि यत्रो तामझाम गरे? यही विषयमा मन्त्री आलेले प्रश्न गरेका छन्। मन्त्रीको सचिवालयका अनुसार आलेले अधिकारीलाई स्पष्टीकरण दिन भनेका छन्। 

अहिलेको अवस्थामा त्यत्रो तामझाम किन आवश्यक थियो? यो तामझाम बिना उडान सफल नै हुँदैनथियो? जस्ता प्रश्न आलेले सोधेका छन्। 

आलेले अधिकारीलाई यो पहिलोपटक स्पष्टीकरण सोधेका होइनन्। गएको साता आलेले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए। त्यो थियो नेपाल एयरलाइन्सको एउटा ट्विनटर जहाज भाडामा दिएका बारेमा। 

मन्त्री नियुक्त हुनेवित्तिकै नेपालभर आन्तरिक उडान गर्ने र त्यसका लागि युवराज अधिकारीले काम गर्ने आलेले पहिले घोषणा गरेका थिए। तर उडान त भएन उल्टो उल्टो भएका दुईवटा जहाजबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्न सकेको छैन। नेपाल एयरलाइन्सले एउटा जहाज निजी कम्पनीलाई चार्टरमा(भाडामा) दिएको थियो। पर्यटकीय गतिविधि नहुने पश्चिम नेपालका पहाडी गन्तव्यमा यो सिजनमा निजी एयरलाइन्स पूर्वतिर सर्छन्। यस्तो बेला पश्चिम नेपालका यात्रुले सास्ती पाउँछन्। तर यही बेला नेपाल एयरलाइन्सले आफ्नो एउटा जहाज भाडामा दिएको थियो। 

पोखराबाट उडान गर्नेगरी एउटा निजी कम्पनीलाई चार्टर्ड उडानका लागि सम्झौता गरिएको थियो। सोही विषयमा बिजनेस न्युजमा समाचार प्रकाशित भएपछि आलेले तत्काल सो चार्टर उडान रोक्न निर्देशन दिएका थिए। उडान रोक्न निर्देशन दिँदै आफै नचलाएर किन भाडामा दिएको हो? भनेर स्पष्टीकरण सोधेका थिए। सो स्पष्टिकरणको जवाफ नआउँदै आलेले अधिकारीलाई अर्को स्पष्टीकरण सोधेका छन्। 

आफ्नै नियुक्तिमाथि निरन्तर प्रश्न 

अधिकारीलाई मन्त्री आले आफ्नै सिफारिसमा सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। कात्तिक ८ गते अधिकारीलाई अध्यक्ष नियुक्त गरिएको थियो। 

महाप्रबन्धक डिमप्रकाश पौडेल हुँदाहुँदै अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको थियो। नेपाल एयरलाइन्समै काम गरेर अवकाश पाएका मात्र नभइ यौन दूराचारजस्तो गम्भीर विषयमा मुछिएका अधिकारीलाई अध्यक्ष नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो। 

नियुक्त भएको सुरुवाति दिनहरुमा मन्त्री आले अधिकारीको प्रसंशा गरेर थाक्दैनथिए। अधिकारीले थोरै तलबमा काम गर्ने,  एयरलाइन्सको संरचना बुझेकाले प्रतिफल निकाल्ने, दुर्गममा व्यापक उडान गर्नेमा आफू विश्वस्त रहेको बताउँथे। 

तर आले सात महिनामै आफैले विश्वास गरेर ल्याइएका पात्रप्रति निरन्तर प्रश्न गर्ने अवस्थामा पुगेका छन्। त्यो पनि संस्थाको हित विपरीत काम गरेको विषयलाई लिएर। 

आफूले लाभ लिने ठाउँमा प्रश्न गर्दैनन् आले 

आफूले लाभ नपाएको ठाउँमा प्रश्न गरेपनि आलेले पनि नेपाल एयरलाइन्सको स्रोतमाथि चरम दुरुपयोग भने गरेका छन्।  नाजुक आर्थिक अवस्था भएको नेपाल एयरलाइन्सको जहाज नउडाएका कारणले मात्र होइन कि मन्त्रीपिच्छे तजबिजमा कर्मचारीको नियुक्तिले अनिवार्य दायित्वको भार बढाउँदै गएको र यसले गर्दा आर्थिक अवस्था नाजुक बन्दै गएको सरकारी अध्ययनहरुले देखाइरहेकै बेला मन्त्री आलेले तजबिजमा कर्मचारी नियुक्तिका लागि निर्देशन दिँदै आएका छन्। 

राजनीतिक हस्तक्षेपले जहाज खरिदमा भ्रष्टाचार मात्र होइन दैनिक सञ्चालनमै घाटा लगाउने काम भइरहेको छ। कोरोना महामारी सुरु भएपछि भने यस्तो प्रवृत्ति रोकिएको थियो। तर प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर आएपछि नेपाल एयरलाइन्सको संस्थागत संरचनामा व्यापक हस्तक्षेप भएको छ। 

महाप्रबन्ध हुँदाहुँदै कार्यकारी अध्यक्ष ल्याएर संस्थागन संरचनामा हस्तक्षेप सुरु गरेका आलेले पछिल्लो समय उडान नै बढाउन नसकेको एयरलाइन्समा तजबिजमा कर्मचारी नियुक्ति गरिरहेका छन्। एउटा व्यावसायिक कम्पनीले आफ्नो आवश्यकता तथा व्यावसायिक योजनाअनुसार कर्मचारी भर्ती तथा कटौती गर्नुपर्ने हो। अहिलेकै कर्मचारी कटौती गर्नुपर्ने पछिल्ला सिफारिस आइरहेका बेला मन्त्री आले तथा नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले भर्ती केन्द्र बनाएका छन्। 

पछिल्लो तीन महिनामै आलेको निर्देशनमा अधिकारीले नेपाल एयरलाइन्समा ५० जनाभन्दा बढी ज्यालादारी कर्मचारी नियुक्त गरेका छन्। 'अहिले राजनीतिक कार्यकर्ता भर्तीको नांगो नाच चलिरहेको छ। कर्मचारी कटौतीको विषयमा छलफल भइरहेका बेला कुनै योजना बिना धमाधम ज्यालादारीमा नियुक्त भइरहेका छन्' स्रोतले भन्यो। 

नियुक्तिका लागि सिफारिस गरिएको फाइल बोकेर मन्त्री आलेको सचिवालयका कर्मचारीहरू दिनहुँ अध्यक्ष अधिकारीको कार्यकक्षमा धाउने गरेका छन्। 
आलेको निर्देशनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल, धनगढी विमानस्थल, डोटी, बझाङ, साँफेबगर विमानस्थलका लागि भन्दै  कार्यकर्तालाई  नियुक्त गरिएको छ। 

यसरी नियुक्त भएका कर्मचारीले महिनामा २० देखि २४ हजारसम्म तलब बुझ्ने गरेका छन्। कामभन्दा पनि तलब बुझ्ने प्रायोजनका लागि नियुक्ति गरिएको छ। अधिक जनशक्ति भएको नेपाल एयरलाइन्समा थप नियुक्त गरेर आर्थिक बोझमात्र थपिएको छैन। कतिपय प्राविधिक पदमा पनि हचुवाको भरमा नियुक्त गरिएको छ। 

'जहाजको लोड मास्टर पदका लागि निश्चित तालिम तथा अनुभवको आवश्कयता हुन्छ। यस्ता पदमा पनि तजबिजमा नियुक्त गरिएको छ। एयरलाइन्सलाई आर्थिक बोझमात्र होइन प्राविधिक रुपमा पनि कमजोर बनाउने काम भइरहेको छ' एक उच्च अधिकारीले भने। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend