काठमाडौं- नेपाल वायुसेवा निगमले जापनाको नारितामा उडान संख्या बढाएको छ। निगमले साताामा २ वटा उडान गर्दै आएकोमा अब ३ वटा उडान गर्ने भएको छ। निगम मे १ तारिखदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको ३ उडान गर्ने भएको छ।
२७४ सिट क्षमताको वाइडबडी जहाजमार्फत उडान गरिरहेपनि जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून भएपछि उडान थपेको हो।
आधाभन्दा कम यात्रु बोक्न पर्दा भाडा समेत महँगो भएको छ। निगमको नारिता उडानमा बिजनेस क्लासको भाडा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासको भाडा १ लाख १९ हजार ७ सय रुपैयाँ तोकेको छ।