काठमाडौं- बीमा समितिलाई २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना पेश गरेका छन्। समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको निर्णय गर्दै बैशाख १० गतेसम्मको समयावधी दिएको थियो। जसमा १२ जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीले योजना बीमा समितिमा बुझाएका छन्।
बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।
जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेका छन्। त्यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पुँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन्।
समितिको निर्णयअनुसार बीमा कम्पनीले एक वर्षभित्र पुँजी पुर्याउनु पर्ने निर्णय गरेको थियो। जसको योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो। चुक्तापुँजी वृद्धिको अन्यले पनि छिट्टै पेश गर्नेसमेत अध्यक्ष सूर्य सिलवालले बताए। ‘अधिकांशले हकप्रद र मर्जको योजना पेश गरेका छन्। अब एक वर्षभित्र टुंगो लगाउनु पर्छ,’ अध्यक्ष सिलवालले भने। पुँजी वृद्धि अनिवार्य भएकाले सक्नेले आफै गर्छन् नसक्ने कम्पनी मर्जरमा जाने समेत सिलवालले बताए। बीमा समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरिएको थियो।
बीमा कम्पनीहरूले हकप्रदसँगै बोनस सेयर र अब मर्जरको नीति लिने छन्। मुख्यगरी मर्जरमा जानका लागि के के सुविधा दिने भन्ने विषयमा निर्णय नभएकोले मर्जको नीति कस्तो आउँछ भन्नेमा निर्भर हुनेछ। समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्तापुँजी बढाउने दबाब पर्ने छ।
कम्पनीहरूले हकप्रदमार्फत चुक्ता पुँजी पुर्याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्तापुँजी बढाउने र मर्जरमा जाने तीन विकल्प रहेका छन्। मुख्यतः कम्पनीहरूले हकप्रदमार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही विधिको साहरा लिने छन्। हकप्रदकै सहारामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्तापुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्। अब बीमा कम्पनीहरूका पनि सोही समस्या आउने कतिपय जानकारहरूको बुझाइ छ। सेयर संख्या बढेपछि सेयर भ्यालु घट्ने सामान्यत नियम नै हो।
जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकोमध्ये नेपाल लाइफ बाहेकका कम्पनीलाई चुक्तापुँजी पुर्याउन धौ-धौ पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ। प्राइम लाइफको बोनसपछि २ अर्ब ७७ करोड पुग्नेछ।
सूर्य लाइफको १२.७ प्रतिशत बोनस सेयरपछि २ अर्ब ७७ करोड पुग्नेछ। त्यस्तैगरी लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि २ अर्ब ६५ करोड रुपैयाँको छ। ज्योति लाइफको पनि १० प्रतिशत बोनसपछि २ अर्ब ४२ करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ। एसियन लाइफको पनि २५ प्रतिशत लाभांशपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। नेपाल लाइफबाहेक सबै कम्पनीले हकप्रदको साहरा लिएर चुक्तापुँजी थप्नुपर्ने दबाब छ।
निर्जीवन बीमा कम्पनीहरूले मात्रै २४ अर्ब पुँजी थप्नुपर्ने हुन्छ। जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ। कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्तापुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ। कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयरमार्फत चुक्तापुँजी पुग्ने देखिन्छ।
त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड, लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ।