बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अर्थतन्त्र चलायमान हुने संकेतले बढ्न थाल्यो सेयर बजार, एकैदिन ९५ अंकको उभार

आइतबार, वैशाख ११ २०७९
अर्थतन्त्र चलायमान हुने संकेतले बढ्न थाल्यो सेयर बजार, एकैदिन  ९५ अंकको उभार

काठमाडौं- लगातार घटेको सेयर बजारमा साताको पहिलो दिन नै उभार आएको छ। चुनाव लक्षित अर्थतन्त्र चलायमान हुने संकेत देखिँदा सेयर बजारमा आइतबार दाेहोरो अंककाे उच्च बिज्दुले बढेको हो। यो वृद्धि महिनौ पछिको समेत हो। गत साताको अन्तिम दिन बिहीबार कारोबारको अन्तिम समयमा आएर बजार बढेर बन्द भएको थियो। आइतबार अंकसँगै कारोबार रकममा समेत बढेको छ। 

सेयर बजार बढ्न थालेसँगै २३२५.४५ अंकमा टेको लिएर बजार बढ्ने संकेत देखिएको छ। आइतबार एकदर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैजसो कम्पनीको सेयर मूल्य बढेको छ। 

आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर राेकिएको हो। ६६ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको हो। 

सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको हो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो। वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आंकलन हुन थालेपछि बजार बढ्ने संकेतहरु देखिएपछि पुनः सेयर बजारमा लगानीकर्ता फर्किन थालेका छन्। आयातामा समेत पैसा जान छाडेको र लगानी गर्ने ठाउँ नपाएपछि सेयर बजारमा पुनः पैसा आउन थालेको आंकलन गरिएको छ।

गत साता पाँच दिनको कारोबारमा दुई दिन बढ्दा तीन दिन घटेको थियो। लगानीकर्ताहरु अर्थतन्त्रको सूचक हेरेर लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेका छन्। बिहीबार अधिकांश सूचक सकारात्मक हुँदा घटिरहेका ठूला कम्पनीको सेयर मूल्य पनि बढेको थियो। बिहीबारको उक्त संकेतलाई आइतबारकाे बजारले राम्रो साथ दिएको हो।

गत साताको अन्तिम दिन बिहीबार ४.९० अंकले बढेर २३२५.४५ बिन्दुमा रोकिएको थियो। बिहीबार १ अर्ब ६२ करोड रुपैयाँका कारोबार भएको थियो। अघिल्लो बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २३२०.५१ को बिन्दुमा रोकिएको थियो। 

२०७९ को सुरुवातदेखि नै सेयर बजारले खराब सुरुवात गरेको थियो। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो। नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको थियो। तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रोकिएको थियो।

अघिल्लो साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो। २०७८ को अन्तिम कारोबार दिन भने नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो।


प्रकाशित : आइतबार, वैशाख ११ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend