आइतबार, असोज ६ गते २०८१    
images
images

जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर

images
बुधबार, वैशाख ७ २०७९
images
images
जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर

समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरूपमा निकै सहयोग पुगेको बताइन्।

images
images

हेटाैँडा- मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्शनमुनि रूख नभएको स्थानमा सामूहिकरूपमा गरिएको जडीबुटी र घाँस खेतीलाई आयआर्जनको स्रोत बनाएको छ। उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरुले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन्।

images
images
images

समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरूपमा निकै सहयोग पुगेको बताइन्। 'अब यो ठाउँमा यसरी हामी बहिनी मिलेर आम्दानी गर्छम जस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ,' उनले भनिन्।  

हाइटेन्शनमुनिका रूख काटिएपछि खाली बनेको स्थानबाट उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियारले बताइन्। जडीबुटी गोडमेल गर्ने र घर फर्कंदा घाँस लिएर जानु आफूहरुको दैनिकी बनेको उल्लेख गर्दै परियारले समूहले यस वर्ष अदुवा पनि खेती गरेको उल्लेख गरिन्।  

अदुवा खेती सप्रिएको बताउँदै बजार व्यवस्थापनको पाटोमा भने सहयोग चाहिएको उपसमूहकी कोषाध्यक्ष सानुमाया मोक्तानले जनाइन्। तीन वर्षअगाडि जडीबुटी खेती सुरु गर्दा आम्दानीको सपना देखे पनि दुःख गर्दा र घरमा भएका वस्तुसहितको हेरचाहमा भ्याइनभ्याई भएको अवस्थामा थोरै निराश भएको स्मरण गर्दै कोषाध्यक्ष मोक्तानले जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फत नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी भएको बताइन्। 

images

हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रापालन पनि गर्दै आएको उनको भनाइ छ। मोक्तान भनिन्, 'नभएको लगानी हालेर बाख्रा पाल्ने अनि त्यसलाई घाँस खोज्न कहाँ जाने जस्तो लाग्थ्यो तर अहिले यहाँको घाँसले बाख्रा र गाई पाल्न थालेको छु।' जग्गा जमीन थोरै, पढाइ नभएका कारण उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाले रोजगारीको स्रोत खोज्दा वन समूहले यस्तो उपयुक्त योजना ल्याएर जीवन परिवर्तनमा सघाउ गरेको मोक्तानको भनाइ छ। 

हाल उक्त उपसमूहका महिलाहरुले सर्पगन्धाको बीउसमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको वस्तिमाया मोक्तान बताइन्। उनले भनिन्, 'हामीले त जग्गा जमीन पनि छैन, पढेको पनि छैन कमाउन सक्छ जस्तो मानेको थिएन पो।' तर उक्त सामूहिक जडीबुटी खेतीले अब भने जीवन परिवर्तन हुनसक्ने आशा पलाएको मोक्तानको भनाइ छ। 

बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिलाहरु अहिले सक्षम र व्यस्त हुन थालेको उपसमूहकी सदस्य देवकी बिष्टको भनाइ छ। सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उनले भनिन्, 'खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थामा सामुदायिक वन उपभोक्ता महासंघले ल्याएको यो एउटा कार्यक्रमले साँच्ची भन्नुपर्दा हामीलाई परिवर्तन नै गरिदिएको छ।' सानो लगानीबाट बाख्रापालन सुरु गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उनको भनाइ छ। 

उक्त स्थानमा रहेको दुई हेक्टर जमीनमा हाल सामूहिकरूपमा खेती गरिँदै आएको बिष्टले जानकारी दिए। हाल सर्पगन्धा, अम्रिसो र अदुवाका साथमा घाँस खेती भइरहेको उनको भनाइ छ। यसपटक अदुवा सप्रेको र अब बजारीकरणको तयारीमा रहेको बिष्टले जानकारी दिइन्।  

सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न भेला छलफलमा सम्भावित योजनाहरुको विषयमा जानकारी दिँदा पनि महिलाहरुको जीवन परिवर्तनमा सहयोग पुग्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताए। वनबाट समृद्धि र समृद्धिका लागि उद्यमशीलतामा जोड दिने नीति सामुदायिक वन उपभोक्ता महासंघको रहेको उनले बताए। रासस


प्रकाशित : बुधबार, वैशाख ७ २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend