शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउने मोबाइलमा कडाइ, एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

विकृति रोक्न नियमको पूर्णकार्यान्वयन : भन्सार

बुधबार, वैशाख ७ २०७९
विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउने मोबाइलमा कडाइ, एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

विमानस्थल भन्सारले  एउटाभन्दा बढी (प्रयाेग भएको वा नयाँ) मोबाइल ल्याउनेलाई २.५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने थालेको छ।

काठमाडौं- सरकारले विदेशबाट नेपाल आउने नागरिकले ल्याउने मोबाइललगायतका विद्युतीय सामानमा कडाइ गरेको छ। विमानस्थल भन्सार कार्यालयले अहिले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइल मात्रै भन्सार छुट दिन थालेको छ।

विमानस्थल भन्सारले  एउटाभन्दा बढी (प्रयाेग भएको वा नयाँ) मोबाइल ल्याउनेलाई २.५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने थालेको छ। भन्सार कार्यालयले यसअघि प्रयोगमा रहेको एउटा र अर्को एउटा नयाँ फोन ल्याउँदा भन्सार तिराउने गरेको थिएन।

तर कानूनमा भने प्रयोगमा भएको वा व्यक्तिगत प्रयोगका लागि ल्याइने एक सेटमा मात्रै भन्सार नलाग्ने व्यवस्था छ। व्यवहारिक रुपमा भन्सार कार्यालयले यात्रुलाई केही सहजता दिँदै आएको थियो। तर पछिल्लो सयम नेपाल आउने यात्रुलाई भरिया बनाएर महँगा फोन पठाउन थालेपछि कार्यालयले एकभन्दा बढी सामान ल्याउनसँग कर लिन थालेको हो।

‘यो कुनै नयाँ नियम हैन,’ भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने, ‘२०७७ जेठ १५ गते राजपत्रमा प्रकाशित अर्थमन्त्रालकको सूचना हो। यसलाई अहिले हामीले प्रभावकारी कार्यान्वयन गरेका होैं। हाम्रो मनसाय यात्रुलाई दु:ख दिने होइन। व्यवसायिक सामान व्यक्ति प्रयोग भएर नेपाल नआउहोस् भने नै हो।’

यसको अर्थ विदेशबाट आउने एक थान प्रयोग गरिरहेको वा नयाँ जे ल्याउँदा पनि भन्सार छुट पाउने छन्। तर २ थान साथमा भएको अवस्थामा भने एउटाको भन्सार दाखिला गर्नु पर्ने भएको हो। कुनै यात्रुले आफ्नो साथमा एउटा प्रयोग भइरहेको पुरानो मोबाइल र अर्को एउटा नयाँ  मोबाइल ल्याएको छ भने उसले नयाँको भन्सार छुट लिएर पुरानोको भन्सार तिर्न पनि पाउँछ।

यात्रुले एउटाभन्दा बढी ल्याएको माेबाइलमा २.५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत भ्याट तिर्नु पर्नेछ। 

विदेशमा ५० हजार रुपैयाँ हालेर मोबाइल किनको छ भने उसले ७ हजार ९ सय १२ रुपैयाँ राजस्व तिर्नु पर्छ। भन्सार कार्यालयले साउदी, मलेसियालगायत खाडीका देशबाट आउने यात्रुले समेत महँगा आइफोन र म्याक बुक बोकेर आउन थालेपछि कडाइ गरेको जनाएको छ।

 

 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend