बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उत्साहप्रद सूचकले पनि साथ नदिँदा निफ्राको सेयर मूल्य ३ सयबाट ओर्लियो

बिहीबार , वैशाख ८ २०७९
उत्साहप्रद सूचकले पनि साथ नदिँदा निफ्राको सेयर मूल्य ३ सयबाट ओर्लियो

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आम्दानी र नाफा उत्साहजनक रुपमा बढ्दा पनि सेयर मूल्य भने ३०० रुपैयाँबाट तल ओर्लिएको छ। बुधबार निफ्राले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ९ महिनामा १८ प्रतिशत नाफा बढाएको छ।  

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख रुपैयाँ गरेको बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा ६९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। 

उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष राम्रो लाभांश दिँदा पनि निफ्राको सेयर मूल्य खासै बढ्न सकेको छैन। दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २६८ रुपैयाँसम्म आइपुगेको थियो। जुन रकम ६३ प्रतिशतले कमी थियो। विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

बुधबार कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य घटेर २९६.३० रुपैयाँमा आइपुगेको छ। बुधबार मात्रै सेयर मूल्य ५.७० रुपैयाँ घटेको हो। कम्पनीको बजार पुँजीकरण ६४ अर्बमा झरेको छ। चैत मसान्तसम्म बैंकको कर्जा बिस्तार आक्रामक बढेकाले पनि ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो। चैतसम्म ११ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको निफ्राले पोहोर चैतमा २ अर्ब १९ करोड रुपैयाँको कर्जा बिस्तार गरेको थियो। 

आक्रामक कर्जा बिस्तारको नतिजा स्वरूप खुद ब्याज आम्दानी ३८ प्रतिशत बढेको छ। गत चैतमा ९३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २९ करोड रुपैयाँ छ। निफ्राको प्रति सेयर आम्दानी ४.२९ रुपैयाँ पुगेको छ। साेही अवधिमा निफ्राको प्रति सेयर नेटवर्थ १०६.५१ रुपैयाँ छ। 


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९००:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend