बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ग्लोबल आईएमई बैंकको छलाङ, एनआईसीभन्दा १२ करोड र नबिलभन्दा ३७ करोड बढी नाफा कमाउँदै पहिलो

२७ बैंकको नाफा ५१ अर्ब 

बुधबार, वैशाख ७ २०७९
ग्लोबल आईएमई बैंकको छलाङ, एनआईसीभन्दा १२ करोड र नबिलभन्दा ३७ करोड बढी नाफा कमाउँदै पहिलो

काठमाडौं- ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा पहिलो बनेको छ। नबिल र एनआईसी एशिया बैंकलाई उछिनेर लगातार नाफा कमाउनेमा पहिलो बनेको हो। ग्लोबल बैंकको नाफा एनआईसीको भन्दा १२ करोड रुपैयाँ बढी नाफा र नबिलभन्दा ३७ करोड रुपैयाँ बढी नाफा कमाएको छ।

ग्लोबल बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो ।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो। बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ।

नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.१७ रूपैयाँले घटेर २०.८८ रुपैयाँ कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १४९.४५ रुपैयाँ पुगेको बैंकले जनाएको छ।

एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको छ। अघिल्लो वर्षभन्दा २० प्रतिशतले नाफा बढाएको हो। बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ। बैंकको स्वपुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.९४ आर्जन गर्न सफल भएको छ। 

नबिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत वर्षको तुलनामा नाफा घटेको छ। सेयर मूल्य पनि घटिरहेका बेला नाफा गत वर्षको तुलनामा ८.९१ प्रतिशतले घटेको हो। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढे पनि खुद नाफा भने घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ।

२७ बैंकको नाफा ५१ अर्ब 

२७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष याे अवधिसम्म  वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका थिए।   

औसतमा हरेक वाणिज्य बैंकहरुले एक अर्ब ८८ करोड नाफा कमाएको देखिन्छ। चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ। यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन्। 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend