काठमाडौं-२०७९ मा सेयर बजारले खराव सुरुवात गरेको छ। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो। नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको छ।
सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको छ। भने कारोबार १ अर्ब ५३ करोडमा खुम्चिएको छ। ११ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँमा सिमित भएको थियो।
२०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो। वर्षको अन्तिम दिन ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो। अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको थियो।
यसरी सुरु भयो वियरिस ट्रेण्ड
नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार वियरिस ट्रेण्डमा प्रवेश गरेको विश्लेषण हुन थालेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।
यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धकका क्रममा माओवादीहरूले लुटेको पैसा बजारमा आउँदा बैंकिङ तरलता बढ्यो।
यस अवधिमा संविधान सभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए। जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।
त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो। २०७२ को बुलमा सेयर बजार १८०० बिन्दुबाट तल १२०० को बिन्दुमा झरेको थियो।
यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनस सेयर वितरण भएन।
बजार विश्लेषकहरूका अनुसार गत वर्षको सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउदा बजार नसोचिएको हिसावले सुधार भयो।
बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भए पछि निक्षेप कर्ताले पनि आफू सँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ।
बैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दवाव पर्यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। यस्ता समाचारले सेयर बजार तल झार्न थप मद्दत गरेको विश्लेषकहरू बताउँछन्।
यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किले क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुचारु गर्नका लागि उनिहरूलाई थप पुँजीको आवस्यकता पर्दछ।
नयाँ आएका लगानीकर्ताले स्टप लस गर्न जान्दैनन्। आफ्नो निक्षेप लिएर बसेकाहरू घाटा खाएर बिक्री गर्न चाहदैनन्। तर पुराना लगानीकर्ताले सकेसम्म माथिल्लो मूल्यमै बिक्री गर्छन्। यदि एक हजारमा किनेको सेयर घटेर ९०० सयमा आयो र बजार अझै तल झर्छ भन्ने अनुमान लगाए पनि उनिहरू बिक्री गरेर बाहिरिन्छन्।
गत भदौ २ गतेको अधिकतम बिन्दुको आधारमा अहिलेसम्ममा ८५६ अंकले तल झरेको छ। करेक्सनभन्दा भन्दै बजार वियरिस ट्रेण्डमा अगाडि बढेको कुरा अधिकांस लगानीकर्ताले सामान्य भेउ पनि पाएनन्। अहिले पनि ३१९९ बाट अघिल्लो बुलमा रहेको १८०० बिन्दु समाउने संकेतहरु देखिएको छ।