काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आलेमा अनौठो विदेश भ्रमण मोह देखिएको छ। सामान्य व्यवसायीले भारतमा गरेका कार्यक्रमा समेत अनिवार्य उपस्थित हुँदै आएका आलेले मन्त्रालय मातहतका कुनै पनि विभाग तथा कार्यालयका विदेशी कार्यक्रममा जान छाडेका छैनन्।
यो पालि पनि त्यस्तै भएको छ। मन्त्री आले हाल अष्ट्रेलिया गएका छन्। उनी कुनै राजकीय रणनीतिक कामका लागि विदेश भ्रमण गएका होइनन्। नगइ नहुने कुनै अनिवार्य राजनकीय दायित्वको कार्यक्रममा गएका पनि होइनन्।
तर भारतमा सामान्य व्यापारीक संस्थाले आयोजना गरेको कार्यक्रम नछाड्ने आलेले अष्ट्रेलिया भ्रमण के छाड्थे। उनी अहिले अष्ट्रेलियमै छन्।
उपसचिव नै गए हुने कार्यक्रममा आले आफै गएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि तालिम तथा शिक्षा दिने ‘नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट(नाथम)’ सञ्चालनमा छ।
होटल तथा पर्यटन क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा योगदान दिँदै आएको यो संस्थाले तालिम तथा शिक्षा दिएका विद्यार्थीलाई अष्ट्रेलियामा अवसरको खोजीमा मन्त्रीसहितको टोली गएको हो।
‘पहिलो कुरा त यो कार्यक्रम जानैपर्ने अनिवार्य होइन। दोस्रो कुरा मन्त्री नै जानुपर्ने तहको कार्यक्रम पनि होइन’ मन्त्रालय निकट स्रोतले भन्यो।
नाथम एउटा शैक्षिक संस्था हो। यसले व्यावसायिक कामहरू व्यावसायिक रुपले गर्छ। यसमा राजनीतिक नेतृत्व नगए पनि हुने कर्मचारीहरू बताउँछन्।
तर मन्त्री आले आफू मात्र होइन नाथमसँग सम्बन्ध नै नभएका मन्त्रालय सहसचिवसमेत बोकेर अष्ट्रेलिया उडेका हुन्।
यदि मन्त्रालयबाट यो कार्यक्रममा जानैपर्ने भएपनि मन्त्रालयबाट प्रतिनिधित्व गर्ने अधिकारीहरू जानुपर्ने हो तर त्यस सम्बन्धि अधिकारी नभएर अरुलाई नै लगिएको छ। मन्त्री आले, मन्त्रालयकाे पर्यटन महाशाखाका सहसचिव होमनाथ लुँइटेल र नाथमका निर्देशक गएका छन्।
नाथमको सञ्चालक समितिमा पर्यटन मन्त्रालयका सचिव अध्यक्ष हुने व्यवस्था छ। विभिन्न मन्त्रालयका तीनजना सहसचिव बोर्ड सदस्य हुन्छन्। त्यस बाहेक अरु पर्यटनसँग सम्बन्धित प्रतिनिधिमुलक संस्थाका अध्यक्षहरु सदस्य छन्।
‘उच्चस्तरीय नै भएपनि सचिवसम्म गए हुने हो। तर सकभर यस्ता कार्यक्रम कलेको व्यवस्थापक तहबाटै नै प्रतिनिधित्व गर्ने प्रचलन छ। तर योपालि मन्त्री ज्यू नै जानुभयो’ एक कर्मचारीले भने।
एक त मन्त्री नगए पनि हुने कार्यक्रम। त्यसमाथि पछिल्लो समय मुलुकले विदेशी मुद्राको गम्भीर संकट भोग्दै छ। देशमा विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि सरकारले केही वस्तुको आयात समेत रोकिसकेको छ।
सरकारले वस्तु आयात मात्र होइन अनावश्यक सरकारी भ्रमणमा रोक लगाउने, सरकारी खर्च कम गर्ने निर्णय पनि गरेको छ। तर यही बेला अनावश्यक भ्रमणमा मन्त्री आले नै गएका छन्।
‘यस्तो बेला सकभर अनिवार्य राजकीय बाहेकका भ्रमणमा नगए पनि हुने हो। माननीयको भ्रमण यो अवस्था आउनुपहिले नै स्वीकृत भएको पनि हुनसक्छ’ अर्थमन्त्रालयका एक अधिकारीले भने।
यस्तै प्रकारका कलेज अनुगमन भन्दै नाथम बोर्ड अध्यक्ष तथा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा नाथमका कार्यकारी निर्देशकसहितको टोली जाने भ्रमण कार्यक्रम समेत तय भइसकेको छ। अबको एक महिनाभित्रै सचिवसहितको अर्को टोली अष्ट्रेलिया साेही कार्य्रकम जाने तय भइसकेको छ।
यो भ्रमणको सबै खर्च नाथमले बेहोर्ने छ।
‘एउटा कलेज हेर्ने कार्यक्रममा मन्त्री मात्र होइन उच्चपदस्थहरूको लाइन नै छ। क्रमश: सबैलाई विदेश लिने रणनीति बाहेक यसको अरु उपलब्धी छैन’ मन्त्रायल स्रोतले भन्यो।