बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२०७९ को पहिलो सेयर कारोबार बढ्ला कि घट्ला ? यस्तो छ विश्लेषण

आइतबार, वैशाख ४ २०७९
२०७९ को पहिलो सेयर कारोबार बढ्ला कि घट्ला ? यस्तो छ विश्लेषण

काठमाडौं- २०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। २०७९ सालको कारोबार सकारात्मक हुन्छ वा नकारात्मक सबै लगानीकर्ताको चासोको विषय बनेको छ। २०७८ साल बैशाखमा पहिलो कारोबार नेप्से सूचक २ हजार ६ सय ९१ दशमलव ५५ बिन्दुमा रहेको थियो।

वर्षको अन्तिम दिन ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो। अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि पनि त्यसको असर बजारमा देखिएको छैन। 

राजनीतिक घटनाक्रम, नेपाल कम्युनिष्ट पार्टीबाट बनेको गठबन्धन सरकार जस्ता विषयले अर्थतन्त्रमा देखिएको उत्तारचढावसँगै पुँजी बजारको क्षेत्रमा पनि सीधा प्रभाव पारेको छ। पुँजी बजारले ऐतिहासिक रेकर्ड नै कायम राखेर बजारले एउटा नयाँ बिन्दुमा प्रवेशका लागि बाटो बनाइसकेको छ। कारोबारको हिसाबले पनि नयाँ रेकर्ड बनाएको छ।

देशको अर्थतन्त्रको मापकका रुपमा हेरिएको पुँजी बजारलाई राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोण मात्र फेरिएन बजारप्रति आकर्षण बढाउने भूमिका पनि गत वर्ष रहन पुग्यो। सेयर बजारमा प्रत्यक्ष जोडिनेको संख्यामात्र ५० लाखभन्दा बढी भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डलगायतको भूमिकाले बजारलाई समग्रमा सकारात्मक नै प्रभाव पारे पनि जति भूमिका निभाउन पर्ने थियो त्यति नसकेको लगानीकर्ताहरू बताउँछन्।  

नेप्से ३२ सयको बिन्दुमा पुगेको त्यो दिन विशेष रहेको थियो। कोरोना भाइरसको कारण २०७८ सालको बैशाखको सुरुवातदेखि नै बजार २६ सयको मनावैज्ञानिक बिन्दुमा अड्किरह्यो। दोस्रो चरणको लकडाउनको समय भएकाले पनि लगानीका अन्य क्षेत्र बन्द हुँदा पुँजी बजारको क्षेत्रमा लगानीको मात्रा बढाउनेको संख्या ठूलो थियो। 

बजार कोभिडले के हुन्छ भन्ने दोधारको अवस्था थियो। त्यो अवस्थामा खरिदकर्ताहरू बढी हाबी हुँदा बजार केही सुस्त बन्न पुगे पनि पछि सम्हालिन पुगेको थियो। जसले गर्दा एकपछि अर्को गर्दै सेयर बजार भदौ २ मा तीन हजार १ एक सय ९८ दशमलव ६० बिन्दुमा आइपुगेको थियो। उच्चतम  बिन्दु ३२ सय २० दशमलव ३३ मा पुगेपनि बजार बन्द हुँदा १३ सय ९९ बिन्दुमा राेकिएको थियो। 

सेयर बजारका लागि २०७८ भन्दा २०७९ साल बढी फलदायी हुने देखिन्छ। अर्थतन्त्रमा देखिएको संकट विस्तारै समाधान हुनेछ भने मौद्रिक नीतिमार्फत आएको समस्याहरूको हल गरिनेछ।

२०७८ काे अन्तिम साता 

लगातार घटिरहेको सेयर बजारमा २०७८ सालको अन्तिम दिन भने घट्ने क्रम रोकिएर दोहोरो अंकले वृद्धि भएको थियो। वर्षको अन्तिम दिन बुधबार कारोबार रकममा भने खासै उत्साह नदिए पनि अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो।

वर्षको अन्तिम दिन बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा रोकिएको छ। बुधबार १ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। 

मंगलबार भने बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा आइपुगेको थियो। मंगलबार १ अर्ब ५२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। जहाँ १३ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको थियो। 

त्यस्तै सोमबार ४४.६४ अंकको गिरावट आएको थियो। ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो। सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो। गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो।

गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको थियो। 

छोटेलाल रौनियार (सेयर बजार विश्लेषक)

chote lal.jpg

२०७८ सालमा नेपालको सेयर बजारमा राम्रो नराम्रो दुवै प्रभाव रहन पुगेको छ। अनलाइन प्रविधि तथा मेरो सेयरमा विकास भयो जसले लगानीकर्ताहरू निकै उत्साहित भएर बजारमा ५० लाख बढीले खाता खोलेका छन्।

सेबोनले लाभकर ५ प्रतिशतमा झार्‍यो। मौद्रिक नीतिमार्फत संकुचित पार्न खोजेर अलिकति अप्ठेरो भयो। बजार अहिलेसम्मकै उचाइमा पुग्यो। अहिले बैंकको ब्याजदर समानान्तर नै रहेको मान्न सकिन्छ।

२०७९ साल अझै सुखद हुनेछ। लगानीकर्ताको मनोबल उच्च रहेको छ। बैंक तथा हाइड्रोमा बढोत्तरी हुन सक्छ। राजनीतिक माहोल पनि बजारमैत्री नै छ। बजार अझै माथि जाने सम्भावना छ। यो वर्ष २०७८ मा बनेको नेप्सेको उच्च बिन्दुको रेकर्ड ब्रेक हुनेछ।  

 


प्रकाशित : आइतबार, वैशाख ४ २०७९०१:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend