काठमाडौं- खोप र भौतिक पूर्वाधारका दृष्टिकोणले २०७८ साल उत्साहजनक रह्यो। कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्धतामा नेपालले उत्साहजनक प्रगति हासिल गरेको हो।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप र सङ्क्रमण न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको देखिन्छ।
२०७८ मा नै कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो लहर व्यहोर्नुपर्यो। कोरोना भाइरस संक्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि चुनौती थपिए पनि स्वास्थ्यकर्मीको अथक प्रयासले ठूलो क्षति हुन पाएन। दोस्रो लहरका बेला बनेका स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीको सहयोगले तेस्रो लहरलाई सजिलै पराजित गर्न सफल भएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २०७८ साल मन्त्रालयका लागि चुनौती र अवसरको वर्षका रुपमा रहेको बताए। 'महामारीको दोस्रो र तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि हामीले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो', उनले भने, 'तर हामीले हाम्रा स्वास्थ्यकर्मीको अथक प्रयासले दुवै लहरलाई नियन्त्रणमा लियौँ।' उनले कोभिड-१९ को खोप प्रायः सबै नागरिकलाई लगायौँ र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए।
२०७८ बैशाख १ गते कोरोना भाइरस संक्रमण विरुद्धको खोप १८ लाख ७३ हजार ३७७ मात्रा लगाएको थियो भने २०७९ बैशाख १ गते ४ करोड ५ लाख १६ हजार २७९ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ। २०७८ मा मात्र ३ करोड ८६ लाख ४२ हजार ९०२ मात्रा खोप लगाइएको छ भने २०७८ सालमा पाँच करोड एक लाख ३३ हजार ५७० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २०७७ माघ १२ गतेदेखि नेपालमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउन थालिएको हो। अहिलेसम्म नेपालमा ५ करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप आएको छ। नेपालमा कोभ्याक्स सुविधा, अनुदान र खरिद गरी खोप ल्याइएको छ। नेपालमा १२ वर्षदेखि माथिका सबैलाई खोप अभियान सञ्चालन गरिएको छ।
अहिलेसम्म लक्षित जनसंख्या (१८ वर्षभन्दामाथि) को ९४ प्रतिशतले पहिलो मात्रा र ८३.१ प्रतिशतले पूर्ण मात्रा खोप तथा कुल जनसंख्याको ७५.९ प्रतिशतले पहिलो मात्रा र ६६.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको छ। बैशाख महिनाभित्र लक्षित सबै नागरिकलाई खोप लगाइ सक्ने मन्त्रालयले जनाएको छ।
यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९२ प्रतिशतले पहिलो मात्रा र ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले २०७८ साल स्वास्थ्य क्षेत्रमा देखिएको चुनौतीलाई अवसरमा बदल्ने काम भएको बताए।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले नै स्थानीय तहमा पाँच, १० र १५ शैयाका अस्पताल निर्माणको सुरुवात गरिएको छ। मन्त्रालयले अस्पताल नभएका स्थानीय तहमा निर्माण सुरु गरेको हो। २०७८ मा २५९ अस्पतालको निर्माण सुरु भएको छ।
तीमध्ये ६६ वटा अस्पताल निर्माणका लागि बजेटसमेत निकास भइसकेको सहप्रवक्ता डा अधिकारीको भनाइ छ। यस्तै १६० अस्पताल प्रक्रियामा आएको, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियामा रहेका १२२, डीपीआर तयार भएको ९० अस्पताल छन्।
२०७७ मा निर्माण सुरु गरिएका ३९६ अस्पतालमध्ये ३०० को सम्झौता भई निर्माण सुरु भएको छ। तीमध्ये २७८ अस्पतालको रकमसमेत निकासा गरिएको बताइएको छ। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका बीचमा मन्त्रालयले आइसोलेसन, साधारण शैया, सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरको क्षमता विस्तार गरेको छ। सहप्रवक्ता डा अधिकारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नै तीन हजार २३४ हाई डिपेडेन्सी युनिट (एचडीयू) बनाइएको जानकारी दिए। यसअघि एचडीयू कक्ष निर्माण गरिएको थिएन।
२०७८ मा आइसीयू ५२२ शैया, भेन्टिलेटर १२२ र आइसोलेशन एक हजार ६६१ थपिएका छन्। सबैभन्दा बढी संरचना दोस्रो लहरपछि नै थपिएको उनको भनाइ छ। २०७७ भदौमा ५२४ आइसीयू शैया रहेकामा अहिले दुई हजार ९४४ शैया पुगेको छ। यस्तै २२२ भेन्टिलेटरबाट एक हजार ३६ र एचडीयू तीन हजार २३४ पुगेको छ। यसैगरी मुलुकमा १०७ अस्पतलामा अक्सिजन प्लान्ट निर्माण र २५ मा अक्सिजन टङ्याक, ६९३ अक्सिजन कन्सन्ट्रेटर र १३ हजार ९३९ अक्सिजन सिलिण्डर रहेको मन्त्रालयले जनाएको छ।
२०७८ लाई फर्केर हेर्दा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म नभएको भौतिक प्रगति सो वर्ष भएको पाइएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गरेको छ। रासस