मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सिमकोटका किसान आलुखेतीमा आकर्षित

बुधबार, चैत ३० २०७८
सिमकोटका किसान आलुखेतीमा आकर्षित

आलु जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन्। आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ बढी पाइने गरेको किसान बताउँछन्।

सिमकोट- पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन्। गहुँ, जौँ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ। सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन्। 

नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आकर्षित हुँदै गएका हुन्। आलु जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन्। आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ बढी पाइने गरेको किसान बताउँछन्।

सदरमुकाम सिमकोट-५ तल्लोगाउँ र ६ माथिल्लो गाउँका किसानले सदरमुकाममा भएका आफ्ना बढीजसो खेतमा आलुखेती मात्रै गर्ने गरेका किसान मुक्ति रावतले बताए। उनका अनुसार एक/दुई खेतमात्रै अन्य बाली उत्पादन हुँदै आए पनि बढीजसो खेतमा आलुमात्रै उत्पादन गरिँदै आएको छ। यहाँका किसानले बर्खामा मात्र आलुखेती गर्ने चलन छ। यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घर खर्च चलाउँदै आएका छन्।

सिमकोटमा आलुको प्रतिकिला मौसममा ८० देखि १०० रुपैयाँसम्म बिक्री हुन्छ भने बेमौसममा १०० देखि १५० रुपैयाँसम्म बिक्री गर्ने गरेको किसान बताउँछन्। जिल्ला कृषि विकास कार्यालयले आलुखेती गर्ने किसानलाई बीउमा छुट र कृषि सामग्रीमा अनुदान दिन आवश्यक छ। यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा पनि सहयोग गर्न आवश्यक रहेको यहाँका किसान बताउँछन्।

चैतमा आलु रोप्न चटारो 

सदरमुकाम सिमकोटसहित आसपासका किसानलाई चैतको अन्तिमदेखि आलु रोप्न चटारो हुने गर्दछ। यो समय सिमकोटमा प्रायः किसान आलु रोप्न व्यस्त हुन्छन्। यहाँका अधिकांश किसान अन्य खेतीपातीभन्दा आलु कसरी बढी उत्पादन गर्ने भनेर खेतबारीमा दिनरात मेहेनत गरिरहेका हुन्छन्।

उनीहरु खेत खनजोत गर्नुका साथै आलु उत्पादनका लागि ब्याड बनाउनेदेखि अन्य काममा व्यस्त हुने गर्दछन्। वर्षको एकपटक वर्षायाममा मात्रै उत्पादन हुने र काम पनि एकपटक मात्रै गर्नुपर्ने यसको बजारमा माग बढी हुनुका साथै आफूलाई तरकारी खानसमेत सहज हुने भएकाले उनीहरु आलुखेती आकर्षित हुँदै गएका हुन्। रासस


प्रकाशित : बुधबार, चैत ३० २०७८०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend