बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

घटिरहेको सेयर बजारमा वर्षको अन्तिम दिन ‘ब्रेक’, २०७९ साललाई उत्साहप्रद स्वागत

बुधबार, चैत ३० २०७८
घटिरहेको सेयर बजारमा वर्षको अन्तिम दिन ‘ब्रेक’, २०७९ साललाई उत्साहप्रद स्वागत

मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि सेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ। 

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा २०७८ सालको अन्तिम दिन भने घट्ने क्रम रोकिएर दोहोरो अंकले वृद्धि भएको छ। वर्षको अन्तिम दिन बुधबार कारोबार रकममा भने खासै उत्साह नदिएपनि अधिकांश कम्पनीको  सेयर मूल्य बढेको छ।

वर्षको अन्तिम दिन बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा रोकिएको छ। बुधबार १ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। 

२०७८ बैशाख १ गते नेप्से परिसूचक २६९१.५५ बिन्दुमा रहेको थियो। गत भदौ ३ गते बजार ३१९९ अंकको उच्च बिन्दुसम्म पुगेको थियो। त्यसपछि लगातार घटेर सेयर बजार २४०० मा आइपुगेको छ। वर्षको अन्तिम दिनको वृद्धिले सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ। 

nepse 112.PNG

मंगलबार भने बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा आइपुगेको थियो। मंगलबार १ अर्ब ५२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। जहाँ १३ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको थियो। 

त्यस्तै सोमबार ४४.६४ अंकको गिरावट आएको थियो। ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो। सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो। गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो।

गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको थियो। 

लगानीकर्ताहरूका अनुसार यसरी मनोवैज्ञानिक बिन्दुबाट बजार तल झर्नुले आगामी बजार सूचक झनै नकारात्मक दिशातर्फ बढ्ने संकेत गर्छ। खराब अर्थतन्त्रबीच राजनीतिक उत्तारचढाव, राष्ट्र बैंक र अर्थ मन्त्रालयको जुहारीले बजारलाई नकारात्मक प्रभाव पारिरहेको थियो। 

अर्थतन्त्रको अवस्थाले बिग्रिएको सेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव परिरहेको विश्लेषकहरू बताउँछन्। चुनावी माहोलले तान्नुपर्ने बजारलाई पछिल्ला अवस्थाले साथ दिइरहेको छैन। बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने थामिने बिन्दु अझ तल झर्न सक्ने देखिएको छ। 

बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन। मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि सेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ। 

विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ। मूल्यवृद्धि बढेको छ। बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लगाएका छन्।

यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ। वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरूलाई ब्याजदरको चापमा पर्दा बजारप्रतिको उत्साह कम छ।

अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयका साथै सबैलाई विश्वस्त पार्नुपर्ने निकाय नै गलत बाटोमा हिँडिरहँदा त्यसको असर थप कस्तो देखिने हो भन्ने यकिन नभएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, चैत ३० २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend