बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२०७८ लाई फर्केर हेर्दा : सेयर बजारले २०७९ मा नयाँ रेकर्ड बनाउला?

बिहीबार , वैशाख १ २०७९
२०७८ लाई फर्केर हेर्दा : सेयर बजारले २०७९ मा नयाँ रेकर्ड बनाउला?

काठमाडौं- यस वर्षको अन्तिमसम्म आइपुग्दा  पुँजी बजारको क्षेत्र उत्साहजनक रहन पुग्यो। २०७८ साल बैशाखमा आजकै दिन नेप्से सूचक २ हजार ६ सय ९१ दशमलव ५५ बिन्दुमा रहेको थियो।

राजनीतिक घटनाक्रम, नेपाल कम्युुनिष्ट पार्टीबाट बनेको गठबन्धन सरकार जस्ता विषयले अर्थतन्त्रमा देखिएको उत्तारचढावसँगै पुँजी बजारको क्षेत्रमा पनि सिधा प्रभाव पारेको छ। यस वर्ष लगानीकर्ताहरूका लागि पुँजी बजार उत्साहजनक रहन पुग्यो। पुँजी बजारले ऐतिहासिक रेकर्ड नै कायम राखेर बजारले एउटा नयाँ बिन्दुमा प्रवेशका लागि बाटो बनाइसकेको छ। कारोबारको हिसाबले पनि नयाँ रेकर्ड बनाएको छ।

नेपालको अर्थतन्त्रको मापकका रुपमा हेरिएको पुँजी बजारलाई हेर्ने राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोण मात्र फेरिएन बजारप्रति आकर्षण बढाउने भूमिका पनि यस वर्ष रहन पुग्यो। सेयर बजारमा प्रत्यक्ष जोडिनेको संख्यामात्र ५० लाखभन्दा बढी रहन पुग्यो। नियामक निकाय नेपाल धितोपत्र बोर्डलगायतको भूमिकाले बजारलाई समग्रमा सकारात्मक नै प्रभाव पारे पनि जति भूमिका निभाउन पर्ने थियो त्यति नसकेको लगानीकर्ताहरू बताउँछन्।  

नेप्से ३२ सयको बिन्दुमा पुगेको त्यो दिन विशेष रहेको थियो। कोरोना भाइरसको कारण २०७८ सालको बैशाखको सुुरुवातदेखि नै बजार २६ सयको मनावैज्ञानिक बिन्दुमा अड्किरह्यो। दोस्रो चरणको लकडाउनको समय भएकाले पनि लगानीका अन्य क्षेत्र बन्द हुँदा पुँजी बजारको क्षेत्रमा लगानीको मात्रा बढाउनेको संख्या ठूलो थियो। २६ सयको आधार टेकोमा हप्तौसम्म चल्यो।

बैशाखको १५ गते भने कोभिडको निकै पिक समय भएकाले त्यसको असरले घटेर पुन: २५ सयको बिन्दुमा आइपुगेको थियो। चार दिनसम्म निकै त्रासपूर्ण रहेको बजार कोभिड घट्दो हुन थालेपछि पुन उकालो लाग्न पुगेको थियो। खरिददारहरू निकै आत्तिएका थिए।

बजार कोभिडले के हुन्छ भन्ने दोधारको अवस्था थियो। त्यो अवस्थामा खरिदारहरू बढी हाबी हुँदा बजार केही सुस्त बन्न पुगे पनि पछि सम्हालिन पुगेको थियो। जसले गर्दा एकपछि अर्को गर्दै सेयर बजार भदौ २ मा तीन हजार १ एक सय ९८ दशमलव ६० बिन्दुमा आइपुगेको थियो। उच्चतम  बिन्दु ३२ सय २० दशमलव ३३ मा थियो।

लगानीकर्ता नयन बास्तोला सम्झँदै भन्छन्, ‘हामी लगानीकर्ताहरूका लागि ३२ सयसम्म बजारले रेकर्ड ब्रेक लाग्दा पुँजीबजारले कायम गरेको एउटा बाटो हो, यसलाई सरकारले बुुझेर सोहिअनुसार नीतिनियम बनाइ कार्यन्वयन गर्नु नै आजको आवश्यकता हो।’ सेयर बजारसँगै कारोबार रकम बढेको थियो। बजार बढेसँगै २१ अर्ब ३१ करोड रुपैयाँको सबैभन्दा धेरै कारोबार हुन पुगेको थियो।

राजनीतिक दलको वेवास्ता, आन्दोलन र मौद्रिक नीति  

पछिल्लो पुँजी बजारलाई तीनवटा कुराले सबैभन्दा बढी प्रभावित पारेको बताउँछन् लगानीकर्ता छोटेलाल रौनियार। पुँजी बजारलाई कहिले हावा भरिएको बेलुनको रुपमा बुझियो त कहिले जुवाको खालसँग तुलना गरियो। यसले लगानीकर्ताहरूलाई मनोवैज्ञानिक रुपमा नै असर परेको उनी बताउँछन्।

धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले ५२ वटा कम्पनीको नामै सार्वजानिक गरेर सेयर बजारमा इन्साइडर ट्रेडिङ भएको बताएर आफूलाई हिरो सावित गर्न खोजे। जसले गर्दा अर्बौं रुपैयाँ पुँजी लगानीकर्ताहरूले गुमाउन पुगेको थिए।  

नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गएको मंसिरमा पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै दिएको अभिब्यक्तिले बजारमा प्रत्यक्ष प्रभाव देखिएको थियो। प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए।

उनले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको टिप्पणी गरेका हुन्। प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाएका थिए। उनकै पार्टीका नेता जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेदेखि नै पुँजी बजार नकारात्मक बन्दै गएको छ।

३२ सयसम्म पुगेको बजार उनको पालामा निरन्तर घटेर करिब ९ सय अंकले गिरेको छ। बजार नकारात्मक दिशातर्फ गएको बन्दै सेयर लगानीकर्ताहरूले धितोपत्र बोर्ड र राष्ट्र बैंकअगाडि धर्ना नै दिए। यसैवर्ष मौद्रिक नीति पुँजी बजारका लाागि थप चुनौती बनेर आयो। सेयर धितो कर्जामा ४–१२ करोडको क्यापले बजारलाई थप तल झार्नका लागि महत्वपूर्ण भूमिका खेलेको थियो। जुन कारणले माओवादीविरुद्ध लगानीकर्ताले नो भोटको अभियान नै चलाए।

नियामक निकायका प्रमुख नै फन्दामा परेको वर्ष

यस वर्षमा सबैभन्दा अनौठो त पुँजी बजारलाई शुुद्धिकरण गरी कुनै पनि ब्यक्ति वा कम्पनीले गरेको गल्तिलाई तत्काल कारवाही गर्ने गरी बसेको नियामक निकाय नै सेयर बजारको काण्डका कारण आफ्नो पदबाट हात धुन बाध्य भए।

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्म राज ढुंगानाले बुुक विल्डिङमार्फत आउन लागेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नो छोरी, श्रीमतीको नाममा सस्तोमा खरिद गरेका थिए भने तत्कालीन नेपाल स्टक एक्सचेन्जका प्रवबन्धक चन्द्रशेखर साउदले पनि सर्वोत्तम सिमेन्टकै सेयरमा आँखा लगाउँदा हात धुन परेको थियो।

यसले पुजी बजारका नियामक निकाय भित्रबाट पुँजी बजारलाई कमजोर बनाउने काम भएको लगानीकर्ता  तथा  नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्।

२०७८ सालको सेयर बजारबारे -

छोटेलाल रौनियार (सेयर बजार विश्लेषक) -

२०७८ सालमा नेपालको सेयर बजारमा राम्रो नराम्रो दुवै प्रभाव रहन पुगेको छ। अनलाइन प्रविधि तथा मेरो सेयरमा विकास भयो जसले लगानीकर्ताहरू निकै उत्साहित भएर बजारमा ५० लाख बढीले खाता खोलेका छन्।

सेबोनले लाभकर ५ प्रतिशतमा झार्‍यो। मौद्रिक नीतिमार्फत संकुचित पार्न खोजेर अलिकति अप्ठेरो भयो। बजार अहिलेसम्मकै उचाइमा पुग्यो। अहिले बैंकको ब्याजदर समानान्तर नै रहेको मान्न सकिन्छ। २०७९ साल अझै सुखद हुनेछ। लगानीकर्ताको मनोबल उच्च रहेको छ। बैंक तथा हाइड्रोमा बढोत्तरी हुन सक्छ। राजनीतिक माहोल पनि बजारमैत्री नै छ। बजार अझै माथि जाने सम्भावना छ।

विजय रानाभाट (ब्रोकर) -

२०७८ सालमा कोभिडको प्रकोप भोग्न पर्‍यो। कारोबार सुरु भएपछि भने सामान्य भयो। बजारले गति लियो। धेरै रेकर्ड तोडिए। आईपीओको लहर चल्यो। आवेदन दिने पनि ह्वात्तै बढे।

सबैभन्दा ठूलो उपलब्धि त कोभिडपछि हामी सबै अनलाइनमा अभ्यस्त भयौँ। अनलाइन कारोबार र भुक्तानीमा छलाङ मार्‍यो।  

२०७९ सालमा पनि बजार राम्रो नै हुनेछ। ब्रोकर नयाँ आर्थिक वर्षबाट नयाँ टीएमएस आउनेमा आशावादी छन्। अब धितोपत्र कारोबार राफसाफ झनै सजिलो हुनेछ। यसका अलवा २०७९ सालमा संस्थागत लगानीकर्ता भित्रिन सक्ने देखिन्छ। अब बुक बिल्डिङ विधिमा देखिएको समस्याको समाधान हुनेछ।

तुलसीराम ढकाल, (अध्यक्ष, नेपान इन्भेस्टर फोरम) -

२०७८ सेयर बजारका लागि सुखद नै रह्यो। जहाँ नेप्से परिसूचकले अहिलेसम्मकै उच्च बिन्दु चुमेको छ। आजको इन्डेक्सबाट प्रस्टै हुन्छ कि अब बजार कता जान्छ भनेर। बजारमा अझै अवसर छन्। धेरै बैंक तथा वित्तीय संस्थाको सेयरमूल्यअझै १२००–१३०० इन्डेक्सकै हाराहारीमा छ।

पहिलेदेखि तेस्रो त्रैमासमा बैंकले अत्याधिक लगानी गर्ने हुँदा र अहिले कर पनि तिनुपर्ने अवस्था भएकोले सीडी रेसियो केही टाइट देखिएको हो। यदि देशमा चुनाव भएमा लुकेको पैसा बजारमा आउनेछ। अनि तरलता झनै सहज हुन्छ।

अहिलेको टीएमएस र मेरो सेयरको सिस्टममा व्यापक सुधारको खाँचो छ। आगामी दिनमा दैनिक ३० अर्ब कारोबार पनि हुन सक्छ तर सहज रुपले काम गर्ने सिस्टम छैन। अब एउटामात्रै स्टक एक्सचेन्जले काम गर्न सक्दैन। नयाँ स्टक एक्सचेन्ज आवश्यक भइसक्यो। हामीले राज्यलाई कर तिरेका छौँ। त्योअनुसार राज्यले पनि हेर्नुपर्छ ।

प्रेम ओली (बजार जानकार) -

धेरैजसो लगानीकर्ता अहिले ऋण मिलाउने प्रक्रियामा रहेकोले अगामी कारोबार सकारात्मक हुने निश्चित छ। अहिले लगानी लगाउने र भदौ तथा असोजमा प्रतिफल खाने आजको ट्रेन्ड हेर्दा अब बैंकले लिड गर्ने देखिन्छ।

साथीहरूले बजार ४ हजारसम्मको कुरा गर्छन्। नबढेका सेक्टर अझै बढ्ने देखिन्छ। बैंकको ब्याजदर असार मसान्तसम्म बढ्ने सम्भावना छैन। किनकि अन्य क्षेत्रमा लगानी लगाइहाल्ने अवस्था छैन। त्यसैले लगानीका लागि सेयर बजारको विकल्प देखिँदैन।

सेयर बजारका लागि २०७८ भन्दा २०७९ साल बढी फलदायी हुने देखिन्छ। अर्थतन्त्रमा देखिएको संकट विस्तारै समाधान हुनेछ भने मौद्रिक नीतिमार्फत आएको समस्याहरूको हल गरिनेछ।

एक वर्षमा बनेको मैनबत्तीको शरीर (२०७८ बैशाख १ देखि चैत २८ सम्म)

nepse.PNG


प्रकाशित : बिहीबार , वैशाख १ २०७९००:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend