मंगलबार, असोज १ गते २०८१    
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : २०२२ भित्रै सञ्चालन गर्न बाधक बन्दैछ ल्याण्डफिल्ड साइट

images
बुधबार, चैत ३० २०७८
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : २०२२ भित्रै सञ्चालन गर्न बाधक बन्दैछ ल्याण्डफिल्ड साइट
images
images

पोखरा- २०२१ को जुलाईभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष ढिला गरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

images
images
images

विमानस्थल सञ्चालन तयारीका लागि खटिएको टिमका प्रमुख बिक्रम गौतमले विमानस्थल निर्माणको काम चैत २८ गतेसम्म ९५ प्रतिशत सम्पन्न भइरसकेको जानकारी दिए। तर विमानस्थलबाट दुई किलोमिटरको दुरीमा रहेको ल्याण्डफिल्ड साइट (फोहोर विसर्जन स्थल) व्यवस्थापन हुन नक्सदा विमानस्थल सञ्चालन सन् २०२२ भित्रै गर्न असम्भव हुने अवस्थामा पुगेको छ।

विमानस्थल निर्माणको काम बैशाखभित्रै सम्पन्न हुनेमा आयोजना विश्वस्त छ। तर विमानस्थल सञ्चालनका लागि भने सोचेअनुरुप नहुने अवस्था आएको छ।

निर्माण कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवको आयोजना र प्राधिकणका कारण भन्दा पनि स्थानीय तहको कारण विमानस्थल सञ्चालनमा समस्या खडा भएको छ। विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट  विमानस्थल सञ्चालनमा मुख्य अवरोध बनेको गौतमले बताए।

images

‘ल्याण्डफिल्ड साइट अहिले रहेको ठाउँबाट व्यवस्थापन नहुँदासम्म विमानस्थल सञ्चालन सम्भव छैन,’ गौतमले भने ‘ल्याण्डफिट साइट जबसम्म व्यवस्थापन गर्न सकिँदैन तबसम्म विमानस्थल बने पनि सञ्चालनमा आउन सक्दैन।’

landfield site.jpg
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट।

कसरी विमानस्थल सञ्चालनमा ल्याण्डफिल्ड साइट बाधक बन्दै छ?

नयाँ निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटरको दुरीमा पोखरा महानगरपालिकाले पालिकाभित्रको फाहोर व्यवस्थापन गर्दै आएको छ।

फोहोर व्यवस्थापन भएको ठाउँमा चराको मुभमेन्ट हुन्छ। चराको मुभमेन्ट नयाँ बनेको विमानस्थलमा पनि सहजै देख्न सकिन्छ। विमानस्थलको रनवेदेखि सबै क्षेत्रमा चिललगायत दजनौँ प्रकारका चराको चहलपहल बढी छ। चराको आहाराका लागि ल्याण्डफिल्ड साइट उचित ठाउँ बनिरहेको छ। साथै दुईवटा खोलाको बीचमा विमानस्थल छ। चराहरूले विमानस्थल क्षेत्रलाई नै आउने जाने बाटो बनाइरहेका छन्।

विमानस्थल सञ्चानलका लागि सबैभन्दा पहिलो चराहरूको मुभमेन्ट घटाउनु पर्ने गौतम बताउँछन्। चराको मुभमेन्ट कम गर्नका लागि सबैभन्दा पहिले ल्याण्डफिल्ड साइट व्यवस्थापन हुनपर्ने उनको तर्क छ।

ल्याण्डफिल्ड साइट व्यवस्थापन भएपछि अहिलेको चराहरूको मुभमेन्टमा ४० प्रतिशत कम हुने गौतमको भनाइ छ। बाँकी ४० प्रतिशत जनचेतना जगाउने साथै चराहरूको वासस्थान रहेको ठाउँमा व्यवस्थापन गरेर हटाउन सकिने उनको भनाइ छ। थप २० प्रतिशत चराको मुभमेन्ट हटाउन भने विमानस्थल सञ्चालनसँगै आधुनिक प्रविधिसमेत प्रयोग हुने उनको भनाइ छ। तर पहिले अवरोधको रुपमा ल्याण्डफिल्ड साइट रहेको छ। ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषय तीन महिनादेखि छलफलमै सीमित रहेको उनको भनाइ छ।

विमानस्थल सञ्चालनको तयारीसँगै पोखरालाई हव बनाएर अन्तर्राष्ट्रिय तथा हरेक विमानस्थललाई पोखरासँग जोड्न लागेको बुद्ध एयरले सरोकारवाला निकायसँग ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषयमा प्रश्न उठाएको छ।

बुद्ध एयरले जबसम्म ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुँदैन तबसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान असम्भव रहेको बताएका छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले विमानस्थल सञ्चालनको तयारी भइसक्दा पनि विमानस्थल सञ्चालनको मुख्य अवरोध हटाउने विषय अन्योलमा रहँदा सञ्चालनमा ढिला हुने बताएका छन्।

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा महानगरपालिका, सांसद विद्या भट्टराराई लगायतको उपस्थित रहेको कार्यक्रममा ल्याण्डफिल्ड साइट व्यवस्थापन के भइरहेको छ? कसरी व्यलवस्थापन हुन्छ? कहिलेसम्म हुन्छ? भनेर प्रश्न गरेका थिए।

सोही कार्यक्रममा विमानस्थल सञ्चालन तयारी टीमका प्रमुख गौतमले ल्याण्डफिल्ड साइटका कारण विमानस्थल सञ्चालनको मिति तोक्न नसकेको बताएका छन्।

ल्याण्डफिल्ड साइट व्यवस्थापमा ढिला भएको पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीसमेत स्वीकार गर्छन्। ‘२० नम्बर वडामा फोहोर व्यवस्थापन गर्ने गरी ठाउँ तोकिएको थियो,’ उनले भने, ‘तर विवाद भयो। अहिले फेरि ३३ नम्बर बडाको २/३ ठाउँमा फोहोर व्यवस्थापन गर्नेगरी साइट निर्धारण भएको छ। सबै प्रक्रिया पूरा गरेर एकै पटकमा ठाउँँ सार्वजनिक हुन्छ।’

उनले सबै प्रक्रिया पूरा गरेर स्थायी संरचना बनाएर नै ल्याण्डफिल्ड साइट बनाउन ६ महिना लाग्ने बताए। तर अस्थायी संरचना बनाउन सकेको अवस्थामा ३ महिनाबाट फोहोर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। यसमा सबै पक्षको सहकार्य आवश्यक रहेको नेपालीले बताए।

विमानस्थल सञ्चालन जतिसक्दो छिट्टा गर्नुपर्छ भनेर महानगरवासी नै लागेको अवस्थामा फोहोरको विषय समाधान गर्न नसक्दा आफूहरू नै लज्जित भएको नेपालीले बताए।

pokhara airport.jpg

बुद्ध एयरले गरेको छलफलमै सांसद विद्या भट्टराईले फोहोर व्यवस्थापनको विषयका कारण विमानस्थल सञ्चालनमै अवरोध हुन नदिने गरी काम हुनपर्ने बताइन। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको ठाउँमा विमानस्थल सञ्चालन समयमै हुने नसकेर विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउन नदिन आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्णमा काममा पूर्ण रुपमा सहयोग हुने उनको भनाइ थियो।

सोही छलफलमा कास्कीका प्रमुख जिल्ला अधिकारी जगनारायण आचार्यले स्थानीय तहले गर्नुपर्ने प्रक्रिया पूरा गरेर फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्तिदेखि जनतालाई मुआब्जा दिने विषय महानगरपालिकाले अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन दिएको दुई घण्टाभित्रै काम सुरु गर्ने प्रतिवद्धता गरेका छन्।

सोही छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले विमानस्थल निर्माणको काम सम्पन्न हुन लागिसक्दा पनि ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषय सुरु नहुनु दु:खद रहेको बताए।

उनले यो विषयमा प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसँग १५ दिनभित्रै ठाउँको पहिचानसहित अध्ययन गरेर रिपोर्ट बुझाउन वातावरण विज्ञसहितको समिति बनाइदिन आग्रह गरेका थिए। मुख्यमन्त्री पोखरेलले पनि स्थानीय तहसँग ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषय सोधेका थिए।

प्रदेश सरकारसँग पनि आयोजनाले बारम्बार सोधिरहेको हुँदा जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने उनले बताए। उनले प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माको यसअघि नै गठन भएको कार्यदललाई १५ दिनभित्रमा ल्याण्डफिल्ड साइट व्यवस्थापन कसरी र कहाँ कुन तवरबाट गर्न सकिन्छ अध्ययन गरेर रिपोर्ट बुझाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री पोखरेले ल्याण्डफिल्ड साइटका कारण विमानस्थल सञ्चालनमा कुनै ढिला हुन नदिने गरी काम गर्ने प्रतिवद्धतासमेत गरेका छन्।

यता बुद्ध एयरले भने विमानस्थल सञ्चालनका लागि योग्य भइसकेको अवस्थामा जसरी पनि ल्याण्डफिल्ड साइटको विषय टुंगो लगाउन कार्यतालिका बनाएर नै काम गर्नु पर्ने बताएको छ।

बुद्ध एयरले पोखरालाई हव बनाएर सबै प्रदेशको राजधानी, सुगम विमानस्थल तथा भारतको केही विमानस्थलमा समेत उडान गर्ने योजना बनाइरहको छ। बुद्ध एयरले अहिले पोखरालाई बेस बनाएर नेपालगञ्ज, भैरहवा, भद्रपुर, सिमरा लगायका गन्तव्यमा उडान गरिरहेको छ। बुद्धले पोखराबाट केही दिनमै भद्रपुर र विराटनगरमा समेत उडान गर्दै छ।

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पन भएसँगै फिनिसिङको चरणमा छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।


प्रकाशित : बुधबार, चैत ३० २०७८०३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend