काठमाडौं- २४ सयको मनोवैज्ञानिक बिन्दुबाट फर्किने प्रयासमा रहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा नै गिरावट आएको छ। बजार सम्हालिएर अघि बढ्ने विश्लेषण भइरहँदा पुन: ओरालो गतिमा देखिएको हो।
यो साता आइतबार बन्द रहेको कारोबारमा सोमबार ४४.६४ अंकको गिरावट आएको छ। ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको छ। सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।
गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो। गएको साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको ३५.६६ अंकको वृद्धिले केही राहत मिलेको थियो। तर अहिले पुन: ओरालो यात्रा देखिएको छ।
अर्थतन्त्रमा देखिएको खराब अवस्थाले सेयर बजारलाई असर गरिरहँदा मन्त्रिपरिषद्को गएको बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरिदियो। जसले अर्थतन्त्रमा हुनुपर्ने सुधारका काम अझ पछाडि धकेलिनुका साथै अन्योलको वातावरण बढिरहेको छ। त्यसको सिधा प्रभाव सेयर बजारमा समेत देखिएको छ। थामिएर अगाडि बढ्ने अवस्थामा पुगेको बजार फेरि नकरात्मक भइरहेको छ।
बजारले सकारात्मक संकेत गरेको, अर्थतन्त्रमा पछिल्लो समय देखिएका खराब अवस्थाबीच पनि चुनावी महोलले बजारलाई उकालो यात्रामा डोर्याउने विश्वास रहेको साथै बैंकमा बढेको निक्षेपले सेयर बजारलाई साथ दिने विश्लेषकहरूले बताइरहेका थिए। त्यहीअनुरूप सूचकहरू देखिन थालेका थिए। तर सरकारी निकायले आफ्नो कमजोरी लुकाउन गभर्नरमाथि धावा बोल्दा अहिले फेरि बजारको गति बिग्रिएको विश्लेषकहरू बताउँछन्।
मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ता बजारबाट पर भइरहँदा बिहीबारको अवस्थाले बजारप्रति विश्वास थपिने आश बढेको थियो। तर त्यसमा नियामकहरूको साथ देखिएन। विश्लेषकहरूका अनुसार बैशाखसम्मका लागि देखिएको पर्ख र हेरको अवस्था रहँदा पनि सकारात्मक सन्देश जान सकिरहेको छैन।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा नै रहेको छ। केही उतारचढाव देखिए पनि बजारले लय समात्न सकेको छैन। अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू तयार भएका छैनन्।
अर्थतन्त्रको अवस्थाले बिग्रिएको सेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव परिरहेको विश्लेषकहरू बताउँछन्। चुनावी माहोलले तान्नुपर्ने बजारलाई पछिल्ला अवस्थाले साथ दिइरहेको छैन। बजारले मनोवैज्ञानिक आधार बिन्दुलाई गुमाउँदै जाने हो भने थामिने बिन्दु अझ तल झर्न सक्ने देखिएको छ।
बैंकहरूले निक्षेपको ब्याजदर बढाउने या नबढाउनेमा अझै कुनै टुंगो लागेको छैन। मुलुकको आर्थिक स्थिति अझै बिग्रँदो अवस्थामा पुग्ने आँकलन भएका कारण पनि सेयर बजारमा सुधार आउने सम्भावना कम देखिएको छ।
विदेशी मुद्रा सञ्चितिको दबाब खेपिरहेको अवस्थामा चैतमा थप समस्या परेको अनुमान गरिएको छ। मूल्यवृद्धि दर बढेको छ । बैंकहरूले आर्थिक संकट आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनकै भरमा विलासी वस्तु आयतमा रोक लगाएका छन्।
यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ। वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरूलाई ब्याजदरको चापमा पर्दा बजारप्रतिको उत्साह कम छ।
अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयका साथै सबैलाई विश्वस्त पार्नुपर्ने निकाय नै गलत बाटोमा हिँडिरहँदा त्यसको असर थप कस्तो देखिने हो भन्ने यकिन नभएको विश्लेषकहरू बताउँछन्।