मंगलबार, असोज १ गते २०८१    
images
images

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २८ २०७८
images
images
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव
images
images

तनहुँ- नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव हुन लागेको हो। 

images
images
images

यही चैत ३० गते सुरु हुने महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए। नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले बताए।

'कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड सङ्क्रमण घटेकाले नयाँ वर्षमा साङ्गीतिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौँ', उनले भने, 'यो कार्यक्रमले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने विश्वास लिएका छौँ।'

बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन्। 'नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी छौँ', उनले भने, 'सडक खाना महोत्सव पनि एउटा माध्यम हुनेछ।' यहाँ आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दीपुर आउन सहयोग पुर्‍याउने विश्वास लिइएको प्रधानले बताए। 

images

सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनाका साथै ‘दी इन्ट्रो ब्यान्ड’ को प्रस्तुति रहने आयोजकले जनाएको छ। 'नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास हाम्रो छ', होटल व्यवसायी विपीन प्रधानले भने। 

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन्। 

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छन्। भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन्। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। रासस


प्रकाशित : सोमबार, चैत २८ २०७८०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend