काठमाडौं- गएको १० गते बुधबार हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ। आयोजनामा कार्यरत सयौँ श्रमिक सम्पर्कविहीन भएका छन्।
जलविद्युत आयोजनामा कतिपय कामदार सुरुङभित्र हुनसक्ने भन्दै खोजीको प्रयास भइरहेको छ। आयोजना निर्माण कम्पनी र हराएका परिवारका सदस्यहरूले खोजी कार्य प्रभावकारी नभएको भन्दै गुनासो गरिरहेका छन्।
लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १ सय ५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो-सानो होल बनाइ खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। त्यहाँबाट केही शवहरू निकालिएको नेपाली सेनाले जनाएको छ।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ।
त्रिशुली-थ्री बीमा नेपाली सेनाको ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउन बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ।
बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ।
त्रिशुली थ्री ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्साभेटरको प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे आउटलेटको होललाई ठूलो बनाउन क्राउनलाई ब्लाष्टिङ गरी सफा गर्ने काम भयो।
त्रिशुली थ्री ए आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ।
त्रिशुली थ्री ए सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ।
यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्साभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ। यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिनेछ।