बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वैकल्पिक सडक : ठूला गाडी नौबिसे-पालुङ-भैँसे-हेटौँडा हुँदै, सानालाई फर्पिङको बाटो

कान्तिलोकपथमा पहिरो पन्छाएर तत्काल सञ्चालनमा ल्याउन पहल

आइतबार, भदौ १४ २०८३
वैकल्पिक सडक : ठूला गाडी नौबिसे-पालुङ-भैँसे-हेटौँडा हुँदै, सानालाई फर्पिङको बाटो

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ।

त्रिशुली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज आइतबार कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो। उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

ठूला सवारीसाधन बाइरोडको बाटो नौबिसे-पालुङ-भैँसे-हेटौँडा हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।

'कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ। हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ। अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ' उनले भने। 

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो।

यसैबीच, सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौंबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ। सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ। 

कृष्णभीरको सडक पूर्णरूपमा क्षतिग्रस्त, प्राविधिक अध्ययन गरिँदै कृष्णभीरको सडक पूर्णरूपमा क्षतिग्रस्त, प्राविधिक अध्ययन गरिँदै


प्रकाशित : आइतबार, भदौ १४ २०८३१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend