मंगलबार, असोज १ गते २०८१    
images
images

विकासमा फड्को मार्दै ‘रामघाट’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २५ २०७८
images
images
विकासमा फड्को मार्दै ‘रामघाट’
images
images

रामपुर (पाल्पा)- धार्मिक नगरी ‘रामघाट’ कालीगण्डकीवेशीकै धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन्छ। 

images
images
images

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाको धार्मिक पर्यटकीय नगरीका रुपमा रहेको रामघाट क्षेत्र कालीगण्डकीबेँसीको धार्मिक महत्वका रुपमा लिइन्छ। 

पौराणिक ऐतिहासिकलाई संरक्षण गर्दै गुरुयोजनाबमोजिम पूर्वाधार विकासको काम थालिएपछि यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रमा विकासका काम धमाधम अगाडि बढाइएको छ। पाल्पाको रामपुर नगरपालिका-५ स्थित कालीगण्डकी नदीको तटमा पर्ने रामघाट पौराणिककालदेखि नै तीर्थस्थलका रुपमा चिनिँदै आएको पवित्र धार्मिक नगरी हो। 

पूर्वाधार विकासका विभिन्न कार्य भइरहँदा अहिले यहाँ चहलपहल बढ्दैछ। मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ घुम्न जानेको आकर्षण बढ्दो छ। विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन रामघाट परिसर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिन पुग्छन्।

images

यहाँ करिब दुई वर्ष पुरानो लक्ष्मीनारायणको मन्दिर पुनः निर्माण, महन्त निवास, पुजारी निवास भवन, धर्म आश्रम, शौचालय, खानेपानी, ट्याङ्की,  पर्यटक लक्षित चौतारी, प्रतीक्षालय निर्माण गरिएको छ। मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पीपलका बगैँचा, फलफूलका बगैँचा, मन्दिर परिसरको पर्खालहरु निर्माण भएका छन्।

ज्येष्ठ नागरिकलाई लक्षित गरी ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण गरिएको छ। दुईतले भवनमा तीनवटा हल रहनेछ। सङ्घीय सरकारको २५ लाख र रामपुर नगरपालिकाको तीन लाख रुपैयाँ सहयोगमा सो भवनको निर्माण सम्पन्न भएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए। 'त्रेतायुगमा भगवान् श्री रामले वनबास जाने क्रममा बसोबास गरेको रामतपोभूमिका रुपमा चिनिएको रामघाटलाई नेपालकै धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ पर्यटन विकास र धार्मिक संरचना सम्बन्धी गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य भइरहेको छ', उनले भने।
       
रामघाट परिसर नजिकै वशिष्ठ गुफा, रामगुफालगायत दर्जनको हाराहारीमा गुफा छन्। कालीगण्डकी करिडोर सडकखण्डबाट करिब साढे दुई किलोमिटर उत्तरमा अवस्थित यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। रामघाटको पर्यटन विकासका लागि विसं २०७४ देखि दसवर्षे गुरुयोजना बनाएर भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु भइरहेको छ। यहाँको संरचना निर्माणमा हालसम्म करिब दुई करोड खर्च भइसकेको अध्यक्ष रेग्मीले जानकारी दिए। 

रामघाट क्षेत्रमा विवाहमण्डप, वनभोजस्थल, त्रिदेव मन्दिर, प्रतीक्षालय, सचिवालय भवन, रामघाट क्षेत्रमा पुग्ने सडक पक्की बनाउने जस्ता कार्य गुरुयोजनामा समेटिएको छ। यहाँ करिब ८४ रोपनी क्षेत्रफललाई धार्मिक तथा पर्यटन विकासका दीर्घकालीन संरचना तयार पार्ने कार्य भइरहेको छ। सामाजिक हितमा राखिएको यो गुठी स्थापनाकालदेखि नै दैनिक पूजाआजा व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको र समुदायमा हस्तान्तरणपश्चात् भने समुदायबाट सञ्चालित छ।

गुरुयोजना तयार पारी काम गर्न थालेपछि रामघाटले छोटो समयमा नै विकासमा फड्को मार्दै गएको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बताए। 'कालीनदी किनारमा रहेको, सडक सुविधा पुगेको यस ठाउँमा जीवनको उत्तराद्र्धमा यहाँ आएर धार्मिक क्रियाकलापमा सरिक हुने माध्यम बनेको छ, भूगोलले पनि उपयुक्त यो क्षेत्र भविष्यमा देवघाटस्थल जस्तै बन्नेछ,' उनले भने।

यहाँ ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण भएकाले यो सञ्चालनमा आएपछि बुढेसकालमा जमघट हुने र दिनचर्या बिताउने मार्ग बन्ने अध्यक्ष खनालले बताए। यहाँ ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएपछि छोराछोरी, बुहारी, परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई बुढेसकालमा आश्रयस्थल लिन सहज हुनेछ। यहाँ रामनवमी, कृष्णाजन्माष्टमी, अक्षयतृतीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्दै आइरहेको छ। यस वर्षको रामनवमी पर्वका दिन एघार लाख लक्ष्यवती दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। 

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका-३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पूजा गर्ने चलन रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका सदस्य मीनराज रेग्मीले बताए। यसो गरेमा पुण्य प्राप्ति हुने विश्वास गरिन्छ। सो दिन रामघाटको दर्शन गर्ने भक्तजनको उपस्थिति ठूलो सङ्ख्यामा भेटिन्छन्।

मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका-४ र ५ मा दर्ता भएको करिब एक हजार रोपनी र दर्ता नभएको एक हजार एक सय रोपनी जग्गा रहेको छ। रामपुर-४ खोप्टारमा लक्ष्मीनारायण गुठीका नाममा रहेको पुरानो धर्मशालाको पुनःनिर्माणको कार्य धमाधम भइरहेको छ। रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा समावेश गरेको छ। 

रामघाटको ऐतिहासिक महत्व

भगवान् रामचन्द्रले त्रेतायुगमा वनबासका क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाई यज्ञ गरेको र नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ। द्वापरयुगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको बाणको सहयोगबाट जल आउने गरेको तथ्य गङ्गामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ। 

पुराणकै तथ्यअनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ। त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएका भगवान्हरुको पनि तीर्थस्थल भएको मानिन्छ। पौराणिककालदेखि तीर्थालुहरु यहाँ आएर स्नान गर्ने, यज्ञादी गर्ने आदि गर्दै आए तापनि दुई सय वर्षअगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको विसं १८८९ को प्राप्त सनतबाट प्रमाणित भएको छ। 

पौराणिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनबास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो। विसं १८७० को समयतिर स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो। 

लक्ष्मीनारायणको मन्दिर यो क्षेत्रकै धार्मिक गहनाका रुपमा लिने गरिन्छ। पहिले पहिले पैदल हिँडेर एकदुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, चैत २५ २०७८१४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend