आइतबार, असोज ६ गते २०८१    
images
images

चोभार सुक्खा बन्दरगाहको उद्घाटनमा अर्थमन्त्रीले भने - सडकमार्फत काठमाडौं उपत्यका समुद्रसँग जोडियो

images
मंगलबार, चैत २२ २०७८
images
images
चोभार सुक्खा बन्दरगाहको उद्घाटनमा अर्थमन्त्रीले भने - सडकमार्फत काठमाडौं उपत्यका समुद्रसँग जोडियो

यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको पनि अर्थमन्त्रीले बताए।

images
images

काठमाडौं- चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको प्रतिक्रिया दिएका छन्। 

images
images
images

अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरू सडकमार्फत बन्दरगाहमा आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन्। 

उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुक्खा बन्दरगाहमा आउने बताए। मन्त्री शर्माले सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार/व्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने बताए। चोभार सुक्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताए।

उनले यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताए। रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गरे।

images

‘अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुक्खा बन्दरगाहमा आउँछ। हामी सडक मार्फत अब सिधै समुद्रसँग जोडिएका छौँ। समुद्रको किनारबाट भरिने कन्टेनरहरू सिधै यस बन्दरगाहमा आउने छन्। जाँच पास लगायतका कुराहरू यहीँबाट हुने छन्। व्यापार सहजिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने छ। लागत र समयका देष्ट्रिकोणले हामी थप उपलब्धि लिने छौँ। लागत पनि कम हुने छ' उनले भने। 

'हामीलाई कोरोनाले एउटा शिक्षा दिएको छ। त्यसपछि अहिले रुस र युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ। हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ। त्यस कारण यो सुक्खा बन्दरगाह आयातको केन्द्रबिन्दु मात्रै नभएर निर्यातको एउटा महत्वपूर्ण केन्द्र बन्नु पर्दछ। हामीले खाद्य वस्तुहरू विशेषगरी कृषिमा आधारित वस्तुहरू तरकारी तथा फलफूलहरू यो बन्दरगाह मार्फत आयात गरेर खाने कुरालाई क्रमश अन्त्य गर्दै निर्यात गर्ने ठाउँमा पुर्‍याउनु पर्छ। यसको लागि सरकार र नीजि क्षेत्र सहकार्य गरेर मात्रै सार्थकता पाउने छ’ उनले थपे। 

त्यस्तै, नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताए। उनले बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र रहेको बताए। सुक्खा बन्दरगाह करिव १ अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको गजुरेलको भनाइ छ।

कार्यकारी निर्देशक गजुरेलले सुक्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताए। उनले मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा बन्दरगाहले आन्तरिक र वैदेशीक व्यापार सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने दाबी गरे। 


प्रकाशित : मंगलबार, चैत २२ २०७८१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend