आइतबार, असोज ६ गते २०८१    
images
images

नागढुंगा-मुग्लिन सडक सुधारको काम बैशाखमा सुरु हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २२ २०७८
images
images
नागढुंगा-मुग्लिन सडक सुधारको काम बैशाखमा सुरु हुने
फाइल तस्बिर।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ। विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ।

images
images
images

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ। तीन प्याकेजमध्ये अहिले नागढुङ्गा-नौबिसे र नौबिसे-मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा-नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए। यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ। नागढुङ्गा-नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे-मलेखु साढे ४३ किमी हो। उनले भने, 'दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ।'

नागढुङ्गाबाट-नौबिसे र नौबिसे-मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ। यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन्। नागढुंगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए। तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए। ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो। उनले भने, 'अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ।'

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए। ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ। त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए। अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए।

images

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ। विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए।

सडक विभागले यस अघि नै मुग्लिन-नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ-बुटवल सडक निर्माणाधीन छ। यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा-मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ। यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ। बैकल्पिक सडक नहुँदा सवारीसधन अर्काेतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन। सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए। सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उनले बताए। उनले भने, 'बुटवल-नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ।' सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ। निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ। वन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ। उनले भने, 'कटानको स्विकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइनेछ।'

नागढुङ्गा चेकप्वाइन्टबाट शुरु भएर चितवानको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवान गरी तीन जिल्लालाई समेट्छ। यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ। सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ। ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ। रासस


प्रकाशित : मंगलबार, चैत २२ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend