बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको मौखिक निर्देशन

सोमबार, चैत २१ २०७८
अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकको मौखिक निर्देशन

काठमाडौं- बैंकहरूलाई अत्यावश्यक बाहेकका वस्तुको आयातमा लगानी नगर्न नेपाल राष्ट्र बैंकले मौखिक निर्देशन दिएको छ। 

राष्ट्र बैंकले आज वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर यस्तो निर्देशन दिएको हो। 

सवारी साधन तथा विलासी वस्तुको आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकका निर्देशकहरूले मौखिक निर्देशन दिएका हुन्। 

'लिखित कुनै पनि निर्देशन छैन। अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्न उहाँहरूले निर्देशन दिनुभएको छ' छलफलमा सहभागी एक सीईओले भने। 

यसअघि राष्ट्र बैंकले लिएका नीतिले आयातमा फरक नपरेपछि विदेशी मुद्राको सञ्चिति घट्नेक्रम रोकिएको छैन। 

विदेशी मुद्राको सञ्चितिमा निरन्तर ह्रास आएपछि केन्द्रीय बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिएको हो। 

गाडी, सुनचाँदी, कस्मेटिक्स सामग्री, विलासी ग्याजेट्ससम्मका आयातमा कडाइ गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरूले बताएका थिए। 

यसअघि राष्ट्र बैंकले आयातमा उच्च मार्जिन राख्नुपर्ने, सुन आयातको कोटा कटौती, चाँदी आयातका लागि विदेशी विनिमयको सीमामा कटौती गरेको थियो। 

राष्ट्र बैंकले यसअघि लिएका नीतिबाट वस्तुको परिमाणमा कमी आएपनि विश्वव्यापी मूल्यवृद्धिले गर्दा मूल्यमा फरक परेको छैन। 

मदिरा तथा महँगा गाडीको आयातका रोक लगाउन यसअघि नै वाणिज्य मन्त्रालयले सिफारिस गरेपनि हालसम्म सरकारले निर्णय गरेको छैन। स्थानीय निर्वाचनअघि आयातमा प्रतिबन्ध लगाउने अप्रिय निर्णय गर्ने पक्षमा सरकार छैन। त्यसैले राष्ट्र बैंकले मौखिक निर्देशनको सहारा लिएको छ।


प्रकाशित : सोमबार, चैत २१ २०७८१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend