बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा इनहाउस व्यवस्थापक होलान् कि विचौलिया प्रभावमा बाहिरबाट? 

सोमबार, चैत २१ २०७८
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा इनहाउस व्यवस्थापक होलान् कि विचौलिया प्रभावमा बाहिरबाट? 

सूचना प्रविधिसँग खरिदमा सेटिङकाका लागि माहिर पौडेलको नियुक्तिका लागि ठूलै चलखेल भइरहेको छ। तर टेलिकमको नियुक्तिमा संस्था बाहिरबाट नियुक्त गर्न नहुने भन्दै ट्रेड युनियनले नै लबिङ गरेको छ। 

काठमाडौं- सरकारी स्वामित्व भएको नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ। नियुक्ति प्रक्रिया विवादित भएपछि अदालतमा पुगेकाले करिब तीन महिनादेखि रोकिएको प्रक्रिया अदालतले फुकुवा गरिदिएसँगै अघि बढेको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन दिएकाहरूका लागि कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका निर्धारण गरिसकेको छ। चैत २२ र २३ गते अन्तर्वार्ताको समय निर्धारण गरिएको छ। 

नेपाल सरकारको स्वामित्वसमेत रहेको व्यापारिक कम्पनी टेलिकमको प्रबन्ध निर्देशक बन्नका लागि ९ जनाले आवेदन दिएका छन्। 

मन्त्रालयका अनुसार एमडी बन्नका लागि अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, सुरजसिंह थापा र संगीता पहाडी प्रतिस्पर्धामा छन्। 

अन्तर्वार्ता तथा प्रस्तुतिकरणपछि एमडी छनौट समितिले तीन जना छान्ने छ। त्यसमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्ने छ। जो व्यक्ति नियुक्त हुनेछ उसले टेलिकमको नेतृत्व सम्हाल्ने छ। 

को होला टेलिकमको एमडी? 

खुला प्रतिस्पर्धा, क्षमता र योग्यताका आधारमा नियुक्ति भनिए पनि शक्ति केन्द्रको चलखेल पनि उत्तिकै हुने गर्छ यस्तो नियुक्तिमा। नेपाल टेलिकम जस्तो ठूलो संस्थाको प्रमुख कार्यकारी पदको नियुक्तिमा त्यसो नहुने कुरै भएन। 

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सुरुदेखि नै चलखेल सुरु भएको थियो। योपालिको नियुक्तिमा आवेदन दिएका सुनिल पौडेललाई बाटो खुलाउन कार्यविधि नै संशोधन गरिएको थियो। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकका लागि योग्य बनाउनकै लागि योग्यताको मापदण्ड हटाइएको थियो। पौडेलका लागि अहिलेका चर्चित बिचौलिया दीपक भट्टसमेतले लविङ गरेका थिए। 

त्यही संशोधनका विरुद्धमा अदालतमा रिट परेको थियो। करिब तीन महिना सोही कारणले रोकिए पनि गएको साता अदालतले संशोधित व्यवस्थाअनुसार नै  नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुला गरिदिएको छ। 

सूचना प्रविधिसँग खरिदमा सेटिङका लागि माहिर पौडेलको नियुक्तिका लागि ठूलै चलखेल भइरहेको छ। तर टेलिकमको नियुक्तिमा संस्था बाहिरबाट नियुक्त गर्न नहुने भन्दै ट्रेड युनियनले नै लबिङ गरेको छ। 

नेपाल टेलिकमको प्रबन्धन निर्देशकको नियुक्ति संस्थामा कार्यरत पदाधिकारीहरूमध्येबाट एकजना हुनुपर्ने माग उठेको छ। सधाझैँ योपालि पनि टेलिकममा कार्यरत कर्मचारीहरूको ट्रेड युनियनले टेलिकमभित्रकै नेतृत्व नियुक्ति गर्नुपर्ने माग गरेको छ। 

हालसम्म टेलिकम बाहिरबाट नियुक्ति नभएको र अहिलेको समयमा सबैभन्दा राम्रोसँग सञ्चालन भएको सरकारी स्वामित्वको संस्था भएकाले पनि बाहिरबाट ल्याउन आवश्यक नभएको ट्रेड युनियनका नेताहरूले दाबी गरेका छन्। 

टेलिकमको नेतृत्व गरिसकेका पूर्व महाप्रबन्धकहरू पनि बाहिरबाट ल्याउन नहुने बताउँछन्। अहिलेसम्म संस्थाको काममा राम्रो देखिएकाले भित्रबाटै नियुक्त गर्नुपर्ने उनीहरूको भनाइ छ। 

'अहिले पनि सरकारी संस्थामध्ये सबैभन्दा राम्रोसँग चलेको संस्था टेलिकम हो। यो भित्रबाटै विकास भएको नेतृत्वले गरेको हो। तर बाहिरबाट ल्याउँदा के हुन्छ भने उसले टेलिकमको ठूलो संरचना बुझ्न नै केही समय लाग्छ। त्यसपछि उसले काम गर्दा धेरै कुरा बुझ्नुपर्ने हुन्छ। तर भित्रबाटै विकास भएको व्यवस्थापक भएमा उसले नियुक्ति हुनेवित्तिकै काम गर्नसक्छ' एक प्रबन्ध निर्देशकले भने। 

यदि टेलिकभित्र कार्यरत कर्मचारीहरूमध्येबाटै नियुक्त गर्ने मनसाय सरकारले बनायो भने संगिता पहाडी सबैभन्दा सम्भावना भएकी उम्मेद्वार हुन्। अहिले टेलिकमभित्रै कार्यरतमा आवेदन दिएकामध्येमा सबैभन्दा सिनियर पनि भएकाले पहाडीको सम्भावना बलियो देखिन्छ। 


प्रकाशित : सोमबार, चैत २१ २०७८१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend