बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उद्योग वाणिज्य महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता

बुधबार, साउन ६ २०८३
उद्योग वाणिज्य महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता

महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित ८ वटा विषयगत समितिले पूर्णता पाएका छन्। समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई टेकुस्थित महासंघ सचिवालयमा आयोजित कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गरिएको छ। 

कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरजकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको बताए।

उनले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, समस्या समाधान र सुधारका एजेन्डा अघि बढाउने प्रभावकारी संयन्त्र भएको उल्लेख गर्दै भने, 'समितिका सदस्यहरूले आफ्नो अनुभव, विज्ञता र व्यावसायिक दक्षतालाई राष्ट्रको आर्थिक विकासमा उपयोग गर्नुपर्छ। उद्योग, व्यापार, लगानी, निर्यात, उद्यमशीलता तथा रोजगारी विस्तारका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्न सकेमात्रै समितिको उद्देश्य पूरा हुन्छ।'

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघको नीतिगत एजेन्डा निर्माणका महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रका साझा मुद्दालाई एकीकृतरूपमा अघि बढाउन समितिहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे। उनले विभिन्न वस्तुगत संघहरूको अनुभव र सुझावलाई समितिमार्फत नीतिगत निर्णय प्रक्रियासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले समितिहरूलाई निजी क्षेत्रका नयाँ सोच, नवप्रवर्तन र व्यावसायिक अवसर पहिचान गर्ने साझा मञ्चका रूपमा प्रयोग गर्नुपर्ने बताए उनले सरकारसँग तथ्यमा आधारित संवाद गर्दै सुधारका प्रस्ताव अघि बढाउन समितिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरे।

कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको प्रभावकारिता उनीहरूको कार्यसम्पादनबाट मापन हुने बताउँदै निजी क्षेत्रका व्यावहारिक समस्या  समाधान र आर्थिक गतिविधि विस्तारमा केन्द्रित भएर काम गर्न सदस्यहरूलाई आग्रह गरे। उनले समितिका सुझावहरूले महासंघको नीतिगत धारणा थप सशक्त बन्ने विश्वास व्यक्त गरे।

महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल श्रेष्ठको सभापतित्वको उद्योग समिति, अरनिको राजभण्डारीको सभापतित्वको कर तथा राजस्व समिति, नानीराज घिमिरेको सभापतित्वको सीप विकास तथा रोजगार समिति, होमप्रसाद दाहालको सभापतित्वको निर्यात प्रवर्द्धन समिति, राजकुमार कार्कीको सभापतित्वको सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समिति, प्रियराज रेग्मीको सभापतित्वको पुँजी बजार समिति र सनिता नेमाफुकीको सभापतित्वको महिला उद्यमी विकास समिति तथा साहारा जोशीको सभापतित्वमा गठित स्टार्टअप एण्ड एनोभेसन समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा समितिका सभापतिहरूले मनोनित सदस्यहरूलाई बधाई दिँदै विषयगत समितिहरूमार्फत निजी क्षेत्रका साझा मुद्दालाई व्यवस्थितरूपमा अघि बढाउने, सरकारलाई समयानुकूल नीतिगत सुझाव दिने तथा उद्योग, व्यापार, लगानी, कर सुधार, निर्यात प्रवर्द्धन, सीप विकास, नवप्रवर्तन र उद्यमशीलता विस्तारका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

उद्योग समितिका सभापति उज्ज्वल श्रेष्ठले उद्योग क्षेत्रका विद्यमान समस्या समाधानका लागि समितिले व्यावहारिक सुझाव तयार गरी महासंघमार्फत सरकारसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

कर तथा राजस्व समितिका सभापति अरनिको राजभण्डारीले कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन निजी क्षेत्रको साझा धारणा निर्माण गरी नीतिगत सुधारमा समितिले सक्रिय भूमिका खेल्ने बताए। 

सीप विकास तथा रोजगार समितिका सभापति नानीराज घिमिरेले उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन र रोजगारी विस्तारका कार्यक्रम अघि बढाउन समितिले विशेष पहल गर्ने धारणा राखे।

निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद दाहालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि समितिले निजी क्षेत्रसँग सहकार्य गर्दै काम गर्ने बताए।

सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समितिका सभापति राजकुमार कार्कीले सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा निजी क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गरे।

पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा वित्तीय स्रोत परिचालनका विषयमा नीतिगत सुझाव तयार गर्न समितिले सक्रिय भूमिका निर्वाह गर्ने बताए।

महिला उद्यमी विकास समितिकी सभापति सनिता नेमाफुकीले महिला उद्यमशीलताको प्रवर्द्धन, आर्थिक सशक्तीकरण र व्यवसाय विस्तारका अवसर सिर्जना गर्न समितिले परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। 

वक्ताहरूले विषयगत समितिहरू महासंघको नीति निर्माण, निजी क्षेत्रका साझा एजेन्डा पहिचान तथा सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रमुख माध्यम भएकाले सबै सदस्यले सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।


प्रकाशित : बुधबार, साउन ६ २०८३१८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend