बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जुम्लामा उत्पादित ७० प्रतिशत स्याउ नेपाली बजारमै खपत, भारतमा पनि अधिक माग

बुधबार, साउन ६ २०८३
जुम्लामा उत्पादित ७० प्रतिशत स्याउ नेपाली बजारमै खपत, भारतमा पनि अधिक माग

भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले ४१ करोड ३७ लाख ३४ हजार रूपैयाँ आम्दानी गरेको छ।

कर्णाली- आम नेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्। चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन्। स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्त मात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ।

जुम्लामा गत आव २०८२/८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो। उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमा नै खपत भएको छ।

सो आर्थिक वर्षमा एक करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमा खपत भएको छ। उत्पादनको करिब ३० प्रतिशत अर्थात् ५५ लाख ९१ हजार केजी स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए।

भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले ४१ करोड ३७ लाख ३४ हजार रूपैयाँ आम्दानी गरेको छ। प्रतिकेजी ७४ रूपैयाँमा स्याउ बिक्री गरी जुम्लाले उक्त आम्दानी गरेको हो। भारतमा जुम्लाको स्याउलाई ‘पहाडीय चिसो स्याउ’ भनेर त्यहाँका उपभोक्तले रुचाउने गरेको अधिकारीले बताए। 

कृषि विकास कार्यालय, जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालु आव २०८३/८४ मा भारततर्फ झन्डै ८० करोड रूपैयाँको स्याउ निर्यात गर्न दुई करोड ७० हजार केजी स्याउ उत्पादन गर्ने लक्ष्यअनुरुप स्याउ उत्पादनलाई प्राथमिकता दिइएको छ।

स्याउका दाना हेर्दा आकर्षक नदेखिए पनि खाँदा गुलियो स्वाद भएकै कारण नेपाली तथा भारतीय बजारमा ‘जुम्ली स्याउ’को माग अकासिँदै गएको तथ्यांकबाट पुष्टि हुन्छ।

जुम्लामा झन्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ। चालु आवमा झन्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य छ।

कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख अधिकारीले भने, 'गत वर्षभन्दा यस वर्ष स्याउको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म यहाँका ८०० किसानलाई स्याउ बगैँचा काटछाँटको अभियान चलाएका छौँ। यसले स्याउको दाना ठूला, पोटिला, स्वादिष्ट, रङसहित आकर्षक हुने र किसानले उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरेका छौँ।' रासस


प्रकाशित : बुधबार, साउन ६ २०८३१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend