काठमाडौं- पछिल्ला केही आर्थिक वर्षदेखि नयाँ उद्योगमा आउने लगानी प्रतिबद्धता घट्दो थियो तर गत आर्थिक वर्षको तथ्यांकले उद्योगीमा उत्साह थपिएको देखिन्छ। २०८२/०८३ मा उद्योग विभागमार्फत नयाँ उद्योगमा आउने लगानी प्रतिबद्धता आर्थिक वर्ष २०८१/०८२ को तुलनामा उल्लेखनीयरूपमा बढेको छ।
उद्योग विभागका अनुसार गत वर्ष ८ सय ४९ वटा उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा ५ खर्ब १२ अर्ब २४ करोड ८९ लाख ५१ हजार ५ सय १ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यो एकै वर्षमा उद्योग विभागमार्फत आएको सबैभन्दा धेरै लगानी प्रतिबद्धता हो।
यसअघि २०७८/०७९ मा ३ अर्ब ३९ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। त्यसपछि कुनै वर्ष पनि त्योभन्दा माथि लगानी प्रतिबद्धता आउन सकेको थिएन। गत आवमा अहिलेसम्मकै बढी लगानी प्रतिबद्धता आएको हो।
विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ सय वटा उद्योगमा २ खर्ब ५८ अर्ब ११ करोड ८४ लाख ८३ हजार ८ सय ९३ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता संख्या र लगानी प्रतिबद्धता दुबै बढेको छ।
गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये ८१ वटा ठूला उद्योग रहेका छन् भने ७८ वटा मझौला र ६ सय ९० वटा साना उद्योग रहेका छन्। विभागका अनुसार दर्ता भएका ८ सय ४९ उद्योगमध्ये सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा आधारित उद्योगमा आएको छ।
गत आर्थिक वर्ष २७ वटा ऊर्जामा आधारित उद्योगमा २ खर्ब ४३ अर्ब ८३ करोड ७४ लाख ६९ हजार ४ सय ६ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी दोस्रो बढी लगानी प्रतिबद्धता सर्भिसमा आधारित उद्योगमा आएको छ। ७९ सेवा क्षेत्रसँग सम्बन्धित उद्योगमा १ खर्ब १० अर्ब ८७ करोड ८१ लाख १३ हजार ४ सय ८९ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
गत आर्थिक वर्ष पर्यटनमा आधारित २ सय ३० वटा उद्योगमा ६७ अर्ब ८३ करोड ९५ लाख ३२ हजार १ सय ३३ रुपैयाँ र १४ वटा खनिजमा आधारित उद्योगमा १ अर्ब २० करोड ८२ लाख ३५ हजार ३ सय ९३ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार १ सय ४८ वटा उत्पादनमूलक उद्योगमा ५१ अर्ब ४७ करोड ७१ लाख ४३ हजार २ सय १८ रुपैयाँ र २३ वटा कृषि तथा वनपैदावरमा आधारित उद्योगमा ३३ अर्ब ६४ करोड ३० लाख ३३ हजार ८ सय ६५ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
विभागको तथ्यांकअनुसार संख्याको हिसाबमा सबैभन्दा बढी दर्ता भएको उद्योग क्षेत्र सूचना प्रविधिमा आधारित रहेको छ। एक वर्षमै ३ सय २८ वटा सूचना प्रविधिमा आधारित उद्योग दर्ता भएका छन्। जसमा लगानी प्रतिबद्धता ३ अर्ब ३६ करोड ५४ लाख २३ हजार ९ सय ९६ रुपैयाँ रहेको छ।
५८ अर्बको विदेशी लगानी प्रतिबद्धता, अटोमेटिक रुटले सूचना प्रविधिमा आकर्षण बढ्यो