काठमाडौं- नेपालमा पेप्सी ब्रान्डका शीतल पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको वरुण बेभरेजले आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। आम्दानी, बजार हिस्सा र सञ्चालन नाफामा निरन्तर सुधार देखिएपछि इक्रा नेपालले कम्पनीको छोटो अवधिको बैंक ऋणको साख मूल्यांकन ‘ए-१ प्लस’ स्तरमा यथावत् राखेको छ।
इक्रा नेपालको जुलाई ९ मा सार्वजनिक प्रतिवेदनअनुसार नेपालको कार्बोनेटेड शीतल पेय पदार्थ बजारमा कम्पनीको हिस्सा आर्थिक वर्ष २०८०/८१ को करिब ४१ प्रतिशतबाट बढेर चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा मूल्यका आधारमा करिब ४३ प्रतिशत पुगेको छ। नेपालमा यस क्षेत्रमा मुख्य रूपमा दुई कम्पनीबीच प्रतिस्पर्धा रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८०/८१ को ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले ५ अर्ब ८७ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ।
सञ्चालन नाफा मार्जिन पनि आर्थिक वर्ष २०८०/८१ को २५.५ प्रतिशत बाट बढेर आर्थिक वर्ष २०८१/८२ मा २६.१ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा थप सुधार हुँदै २७.६ प्रतिशत पुगेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। उत्पादनको बिक्री मूल्यमा सुधार र सञ्चालन खर्च नियन्त्रणका कारण नाफा बढेको जनाइएको छ।
कम्पनीको वित्तीय अवस्था पनि बलियो रहेको प्रतिवेदनमा उल्लेख छ। न्यून ऋण, बलियो नगद प्रवाह र पर्याप्त आन्तरिक आम्दानीका कारण कम्पनीको ऋण तिर्ने क्षमता सुदृढ रहेको इक्रा नेपालको निष्कर्ष छ। बैशाख मध्यसम्म कम्पनीको कुल ऋण–स्वपुँजी अनुपात करिब ०.४ गुणा रहेको छ भने ब्याज तिर्ने क्षमता करिब २७ गुणा पुगेको छ। कम्पनीसँग करिब २ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात रहेको छ भने बैंकबाट स्वीकृत कर्जामध्ये करिब ५२ प्रतिशत अझै उपयोग गरिएको छैन।
इक्रा नेपालका अनुसार कम्पनीले यसअघि नवलपरासीस्थित उत्पादन केन्द्रको क्षमता विस्तार प्रवर्द्धक कम्पनीको स्वपुँजी लगानीबाट सम्पन्न गरिसकेको छ। हाल ठूलो नयाँ पूँजीगत लगानी योजना सार्वजनिक नभए पनि पर्याप्त नगद मौज्दात, न्यून ऋण र प्रयोग नभएको बैंक कर्जा सुविधाका कारण आवश्यकता अनुसार उत्पादन क्षमता तथा बजार विस्तारमा थप लगानी गर्ने वित्तीय क्षमता कम्पनीसँग रहेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि कम्पनीले उच्च दरमा नगद लाभांश वितरण गर्दै आएकाले त्यसको प्रभाव आगामी दिनमा निगरानी गर्नुपर्ने इक्रा नेपालको भनाइ छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाको करिब १०२ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ को नाफाको करिब ९२ प्रतिशत बराबर नगद लाभांश वितरण गरेको प्रतिवेदनमा उल्लेख छ।
साथै कम्पनीविरुद्ध करिब ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कर विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि विवादित दायित्वको करिब ७३ प्रतिशत रकमका लागि व्यवस्था गरिसकेको तथा पर्याप्त नगद मौज्दात रहेकाले तत्काल ठूलो वित्तीय जोखिम नरहेको इक्रा नेपालको निष्कर्ष छ।
प्रतिवेदनले कम्पनीको कुल आम्दानीमध्ये ८३ देखि ८६ प्रतिशत हिस्सा माउन्टेन ड्यु ब्रान्डबाट मात्रै आउने भएकाले एउटै उत्पादनमा उच्च निर्भरता रहेको औंल्याएको छ।
साथै चिनी, कन्सन्ट्रेटलगायत कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, सरकारी कर तथा भन्सार नीतिमा परिवर्तन तथा उपभोक्ताको रोजाइमा आउने बदलावले भविष्यमा कम्पनीको आम्दानी र नाफामा असर पार्न सक्ने इक्रा नेपालको विश्लेषण छ।
सन् १९८५ मा स्थापना भएको वरुण बेभरेजेज (नेपाल) प्रालि भारतको वरुण बेभरेजेज लिमिटेडको शतप्रतिशत सहायक कम्पनी हो। कम्पनीले नेपालमा पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, सेभेन–अप, स्लाइस, एक्वाफिना, सोडा र स्टिङ ब्रान्डका शीतल पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको छ।