मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

तयारी पोशाक उद्योग पुनर्जीवित गर्न प्रधानमन्त्रीको पहल : टेक्सटाइल काउन्सिल गठन, रुग्ण उद्योग सञ्चालनको निर्देशन

मंगलबार, साउन ५ २०८३
तयारी पोशाक उद्योग पुनर्जीवित गर्न प्रधानमन्त्रीको पहल : टेक्सटाइल काउन्सिल गठन, रुग्ण उद्योग सञ्चालनको निर्देशन

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक (गार्मेन्ट) उद्योगका समस्या समाधान गर्दै उत्पादन र निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूलाई तत्काल समन्वय गरी आवश्यक निर्णय अघि बढाउन निर्देशन दिएका हुन्।

छलफलपछि संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीले करिब दुई दशकदेखि बन्द रहेका रुग्ण तयारी पोशाक उद्योग पुनः सञ्चालन गरी आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्ने योजना अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए।

सन् २००५ अघिको जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गरेर अर्थतन्त्रमा योगदान बढाउने विषयमा पनि विस्तृत छलफल भएको उनले बताए।

प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। काउन्सिलमार्फत स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको उत्पादन र निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै अमेरिकातर्फको तयारी पोशाक निर्यातमा ‘टेस्टिङ सर्टिफिकेसन’ अभावका कारण देखिएको अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक पहल गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

साथै निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउन आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन्।

प्रधानमन्त्री शाहले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई कार्यान्वयन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा पनि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा उद्योगीहरूले सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि बजेट नपरेको ग्रिन गार्मेन्ट भिलेज परियोजना कार्यान्वयनको माग गरेका थिए। त्यसमा प्रधानमन्त्री शाहले उपयुक्त स्थानको पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न तयारी पोशाक उद्योगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रका सबैखाले समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

साथै तयारी पोशाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थसमेत स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए।

छलफलमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।


प्रकाशित : मंगलबार, साउन ५ २०८३१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend