मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

अस्तव्यस्त ढोरपाटन जाने सडक, आवतजावतमा सास्ती

पर्यटकीय चहलपहलको मुख्य याममै सडक बिग्रिँदा व्यवसायी चिन्तित

मंगलबार, साउन ५ २०८३
अस्तव्यस्त ढोरपाटन जाने सडक, आवतजावतमा सास्ती

पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन्।

गण्डकी- यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकलाई ढोरपाटन आवतजावतमा सास्ती भोग्नुपरेको छ।

फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवतजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन-९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए। निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो।

'पानी पर्नासाथ पहिरा खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ', वडाध्यक्ष घर्तीले भने, 'यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो।'

बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमी सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमी खण्ड जीर्ण र अस्तव्यस्त छ। विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी-ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ। समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको हो।

ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्ययाममै सडक बिग्रँदा व्यवसायीहरु चिन्तित रहेको बताए। 'सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्', उनले भने, 'सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनलाई असर पुर्‍याइरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।'

पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन्। यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, बर्सातमा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरू यो याममा ढोरपाटन पुग्ने गर्छन्। रासस


प्रकाशित : मंगलबार, साउन ५ २०८३१४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend