बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जीवन बीमा कम्पनीहरूको लगानी : साधारण सेयरतर्फ ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ, ऋणपत्रमा कति?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ६ २०८३
जीवन बीमा कम्पनीहरूको लगानी : साधारण सेयरतर्फ ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ, ऋणपत्रमा कति?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासकसम्म जीवन बीमा कम्पनीहरूले साधारण सेयरतर्फ कुल ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी गरेका छन्।

काठमाडौं- जीवन बीमा कम्पनीहरूले बीमितबाट संकलन गरेको प्रिमियम विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। जसले समग्र आर्थिक गतिविधि तथा वित्तीय प्रणालीको विकासमा भूमिका खेल्दै आएको छ। 

नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको परिधिभित्र रहेर जोखिम न्यूनीकरण र दीर्घकालीन प्रतिफल सुनिश्चित हुने गरी कुल बीमा कोषको बाँडफाँट गरिन्छ।

कम्पनीहरूले प्रिमियमको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्नुका साथै सरकारले जारी गर्ने विकास ऋणपत्र, ट्रेजरी बिल र नागरिक बचतपत्र जस्ता पूर्ण सुरक्षित सरकारी डिबेन्चरहरूमा लगानी गर्ने गर्छन्।  

कम्पनीहरूले पुँजी बजार, विकास पूर्वाधार र व्यावसायिक क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेका छन्। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको साधारण तथा संस्थापक सेयर, बैंक तथा कर्पोरेट डिबेन्चर, म्युचुअल फन्ड, र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा तोकिएको सीमासम्म लगानी गरिन्छ। 

साथै राष्ट्रिय प्राथमिकताका क्षेत्र मानिएका जलविद्युत्, सौर्य ऊर्जा, सडक तथा अन्य पूर्वाधार परियोजना र प्राधिकरणको स्वीकृतिमा रियल स्टेट (घरजग्गा) मा समेत रकम परिचालन गर्ने गरिएको छ।

कम्पनीहरूले आफ्नै बीमितलाई पोलिसी धितोमा राखेर दिने कर्जा पनि लगानीकै एक हिस्सा हो। बीमा कोषको रकम यसरी विविधीकरण गरेर लगानी गर्नुको मुख्य उद्देश्य बीमितको दाबी भुक्तानी सुनिश्चित गर्नु र उनीहरूलाई दिइने बोनस दर उच्च बनाउनु हो। 

दीर्घकालीन प्रकृति हुने जीवन बीमाको रकमलाई जोखिममुक्त र पर्याप्त आम्दानी हुने क्षेत्रमा परिचालन गरेर प्राप्त हुने नाफाकै आधारमा कम्पनीहरूले वार्षिक मूल्यांकनमार्फत बीमितका लागि प्रतिहजार बोनस दर तय गर्छन्। 

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आफ्ना लगानी पोर्टफोलियोलाई थप सुदृढ र विस्तार गरेका छन्। 

कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साधारण सेयर, बैंक तथा वित्तीय संस्थाका अग्राधिकार सेयर एवं ऋणपत्र (डिबेन्चर/बण्ड), र सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले जारी गरेका ऋणपत्रहरूमा बीमा कम्पनीहरूको खर्बौँ रुपैयाँ बराबरको  लगानी पुगेको देखिएको छ।

जीवन बीमा कम्पनीहरूको साधारण सेयरतर्फको लगानी

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले साधारण सेयरतर्फ कुल ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी गरेका छन्।

साधारण सेयरतर्फ सबैभन्दा बढी लगानी हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ। जसले १ खर्ब २४ अर्ब ६८ करोड ४२ लाख ४० हजार रुपैयाँ  लगानी गरेको छ। 

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले ६९ अर्ब ६३ करोड ३९ लाख ९० हजार रुपैयाँ  र सूर्यज्योति लाइफले ५१ अर्ब ५६ करोड १९ लाख ९० हजार रुपैयाँ साधारण सेयरमा लगानी गरेका छन्।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ३१ अर्ब ३५ करोड २५ लाख ५० हजार रुपैयाँ , नेशनल लाइफले ३० अर्ब २४ करोड ८९ लाख ५० हजार रुपैयाँ, आइएमई लाइफले २८ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २८ अर्ब ४९ करोड ६१ लाख १० हजार रुपैयाँ  तथा प्रभु महालक्ष्मी लाइफले २३ अर्ब ३४ करोड ६२ लाख ६० हजार रुपैयाँ  साधारण सेयरमा लगानी गरेका छन्।

सानिमा रिलायन्स लाइफले २० अर्ब ७३ करोड ९६ लाख ९० हजार रुपैयाँ, सन नेपाल लाइफले १५ अर्ब ९३ करोड ८६ लाख ७० हजार रुपैयाँ, सिटिजन लाइफले १५ अर्ब ४९ करोड ४४ लाख ४० हजार रुपैयाँ, एसियन लाइफले १४ अर्ब १४ करोड ३९ लाख ७० हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ७८ करोड १८ लाख २० हजार रुपैयाँ  साधारण सेयरमा लगानी गरेका छन् भने मेट लाइफको साधारण सेयरमा लगानी शून्य रहेको छ।

1.PNG

बैंक तथा वित्तीय संस्थाको बण्ड र ऋणपत्रमा लगानी

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रतर्फ जीवन बीमा कम्पनीहरूले कुल ७७ अर्ब ७९ करोड ७९ लाख ३१ हजार रुपैयाँ लगानी गरेका छन्।

यस क्षेत्रमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सबैभन्दा धेरै १४७ अर्ब ८ करोड ९२ लाख ३० हजार रुपैयाँ  लगानी गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सले ११८ अर्ब ७७ करोड ३ लाख ९० हजार रुपैयाँ र हिमालयन लाइफले ११६ अर्ब ७५ करोड ४७ लाख १० हजार रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै एशियन लाइफले ८६ अर्ब ४१ करोड २४ लाख २० हजार रुपैयाँ , सिटिजन लाइफले ६७ अर्ब ९१ करोड ४२ लाख ९० हजार रुपैयाँ , राष्ट्रिय जीवन बीमा कम्पनीले ५३ अर्ब २८ करोड १२ लाख २० हजार रुपैयाँ, आइएमई लाइफले ४७ अर्ब १९ करोड ९१ लाख ६० हजार रुपैयाँ लगानी छ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले ४७ अर्ब १२ करोड २० लाख १० हजार रुपैयाँ , प्रभु महालक्ष्मी लाइफले ३० अर्ब ९४ करोड ६१ लाख ३० हजार रुपैयाँ , रिलायबल नेपाल लाइफले २३ अर्ब ७५ करोड ८३ लाख १० हजार रुपैयाँ, नेशनल लाइफले २२ अर्ब ७९ करोड १ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ।

सन नेपाल लाइफले १३ अर्ब ३१ करोड ४५ लाख २० हजार रुपैयाँ र मेट लाइफले २ अर्ब ६२ करोड ६७ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन् भने सूर्यज्योति लाइफको यस शीर्षकमा लगानी शून्य रहेको छ।

2.PNG

सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बण्ड र ऋणपत्रमा लगानी

सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको बण्ड, डिबेन्चर र ऋणपत्रतर्फ बीमा कम्पनीहरूले कुल १८ अर्ब ९७ करोड २२ लाख ५७ हजार रुपैयाँ  लगानी गरेका छन्। यस शीर्षकमा भने केही सीमित कम्पनीहरूले मात्रै लगानी गरेका छन्। 

नेशनल लाइफ इन्स्योरेन्सले ९८ अर्ब ४१ करोड ४५ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ। सूर्यज्योति लाइफले ८५ अर्ब ५३ करोड ७० लाख ९० हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ७७ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्। बाँकी ११ वटा जीवन बीमा कम्पनीहरू को सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा कुनै लगानी रहेको छैन।

3.PNG


प्रकाशित : बुधबार, साउन ६ २०८३११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend