मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सक्कली बिल लिने करदाता लखपति बन्ने, महिनामा दुई जनाले १०-१० लाख रूपैयाँ पाउने

मंगलबार, साउन ५ २०८३
सक्कली बिल लिने करदाता लखपति बन्ने, महिनामा दुई जनाले १०-१० लाख रूपैयाँ पाउने

सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं- सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। कार्यक्रमअन्तर्गत अब भ्याट तथा प्यानमा आबद्ध व्यवसायबाट एकसय रूपैयाँ वा सोभन्दा बढीको खरिद गरी सक्कली बिल लिने उपभोक्ताले दैनिक र मासिक नगद उपहार जित्न सक्नेछन्।

सरकारले जारी गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार खरिद गर्दा प्राप्त हुने सक्कली बिलमा उल्लेख गरिएको बिल नम्बरकै आधारमा विजेता छनोट गरिनेछ। हालका लागि प्रत्येक महिनाको १६ गते र अन्तिम दिन गरी पाक्षिक रूपमा उपहार योजनाको नतिजा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमअनुसार हरेक दिन एकजना करदाता एक लाख रूपैयाँ नगद उपहारका लागि छनोट हुनेछन् भने प्रत्येक महिनामा दुईजना भाग्यशाली विजेताले जनही १० लाख रूपैयाँको बम्पर उपहार प्राप्त गर्नेछन्।

यस योजनामा सहभागी हुन उपभोक्ताले भ्याट वा प्यानमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रूपैयाँ वा सोभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली कर बिल लिनुपर्नेछ। खरिदको बिल नम्बर नै उपहार छनोटको आधार हुने कार्यविधिमा उल्लेख छ।

सरकारले बजेटमार्फत घोषणा गरेको यो कार्यक्रमको उद्देश्य करदातामा सक्कली बिल लिने बानीको विकास गर्नु, राजस्व चुहावट नियन्त्रण गर्नु तथा औपचारिक अर्थतन्त्रलाई थप सुदृढ बनाउनु रहेको छ। कार्यविधिअनुसार कार्यक्रमको सञ्चालन, विजेता छनोट र उपहार वितरणको जिम्मेवारी आन्तरिक राजस्व विभागले तोकिएको प्रक्रियाअनुसार गर्नेछ।


प्रकाशित : मंगलबार, साउन ५ २०८३०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend