सुदूरपश्चिम- हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ।
स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ।
यसै रणनीतिअनुसार यहाँ ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘सन्ध्याकालीन बजार’, ‘महिला उद्यम बजार’ र ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ लगायत कार्यक्रम सञ्चालनमा छन्। यी कार्यक्रमलाई सुरुवातदेखि नै प्राथमिकताका साथ अभियानकै रूपमा सञ्चालन गरिएको उपप्रमुख नन्दकला राना बताउँछिन्।
'भौतिक पूर्वाधार विकासका योजना त छँदैछन्, नागरिकको स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, पर्यटन क्षेत्र जागरणका कार्यक्रमलाई हामीले जोड दिइरहेका छौँ', उनले भनिन्, 'यसले सबै उमेर समूह, विविध क्षेत्र र आवश्यकता भएका नागरिकलाई पनि हाम्रो अभियानमा जोड्छ।'
गत असारमा सम्पन्न १५औँ नगरसभाले पारित २ अर्ब ६४ करोड ६४ लाख रूपैयाँभन्दा बढीको बजेटमा ती अभियानलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट बताउँछन्। उनका अनुसार नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा दीर्घकालीन प्रतिफल दिने योजनालाई अभियानकै रूपमा अघि बढाइएको हो।
'कतिपय काम एकाध वर्ष सञ्चालन गरेर प्रतिफल देखिँदैन। नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा निरन्तरता दिनुपर्ने हुन्छ', उनी भन्छन्, 'नगरप्रमुखलगायत जनप्रतिनिधिको सोहीअनुसारको सोच भएकाले उपमहानगरले कतिपय योजनालाई अभियानको रूपमा सञ्चालन गरेर सेवा विस्तार गरिरहेको छ।'
घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा
उपमहानगरले सबैभन्दा महत्व दिएको क्षेत्र स्वास्थ्य सेवा हो। यसअन्तर्गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा आएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ उपमहानगरको सबैभन्दा चर्चित कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ। यसले विशेषज्ञ चिकित्सकलाई अस्पतालबाट नागरिक तह अर्थात् वडासम्म पुर्याउन योगदान पुगेको छ।
स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीका अनुसार उपमहानगरका १९ वटै वडामा नियमित रूपमा सञ्चालन हुने क्लिनिकमा जनरल फिजिसियन, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञबाट सेवा प्रदान गरिन्छ। पाठेघरको मुखको क्यान्सर परीक्षण, इसिजी, भिडियो एक्स-रे, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणसमेत हुँदै आएको छ।
कार्यक्रमका सम्पर्क व्यक्ति कृष्ण बोहराका अनुसार स्थानीय तहको दोस्रो कार्यकालको सुरुवातदेखि नै अगाडि बढाइएको यस कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ। यस अभियानमार्फत असार मसान्तसम्म एक लाख ७२ हजार ४२७ जनाले सेवा लिएका छन्। तीमध्ये ३० हजारभन्दा बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका उनले जानकारी दिए।
यस्तै, हालसम्म प्रयोगशाला सेवा ५९ हजार ८०६ जना, इसिजी सेवा १४ हजार ११७ र भिडियो सेवा आठ हजार ६९१ र गर्भवतीसम्बन्धी सेवा २२ हजार ३९३ जनाले लिएका छन्। 'पहिले विशेषज्ञ सेवा लिन अस्पताल धाउनुपर्ने बाध्यता थियो। हाल आफ्नै वडामा सेवा उपलब्ध हुँदा ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर नागरिकलाई सबैभन्दा बढी सहज भएको छ। यसले समयमै रोग पहिचान र उपचार सम्भव भएको छ', बोहराले भने।
यस कार्यक्रमप्रतिको आकर्षण बढ्दै गएको छ। सम्पर्क व्यक्ति बोहराका अनुसार क्लिनिकबाट आर्थिक वर्ष २०८०/८१ मा ४६ हजार ५३ र आव २०८१/८२ मा ४१ हजार ६२२ जनाले सेवा दिएकामा गत आवमा ८० हजार ७९३ जना लाभान्वित भएका छन्।
'आफ्नै वडामा विशेषज्ञ सेवा पाउँदा रोग लुकाएर बस्नेहरू खुलेर आउन थालेका छन्। यसले स्वस्थ उपमहानगर बनाउने अभियानमा सघाउ पुगेको हाम्रो बुझाइ छ।' उपमहानगरपालिकाले सरकारले दिएका औषधिबाहेक थप १९ प्रकारका औषधि निःशुल्क रूपमा आफ्ना नागरिकलाई उपलब्ध गराउँदै आएको छ।
सरसफाइलाई अभियान र आम्दानीसँग जोड्ने प्रयास
उपमहानगरले सरसफाइलाई केवल फोहर उठाउने कामका रूपमा मात्र लिएको छैन। फोहर व्यवस्थापनलाई वातावरण संरक्षणसँगै स्थानीय आम्दानीको स्रोत बनाउने प्रयास गरिरहेको छ।
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत चार सयभन्दा बढी सरसफाइ समिति परिचालन गरिएका छन्। विद्यालय, समुदाय र विभिन्न सरकारी निकायसँग सहकार्य गरेर सरसफाइलाई साझा जिम्मेवारीका रूपमा विकास गर्ने प्रयास गरिएको वातावरण, खानेपानी तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए।
'फोहर व्यवस्थापनलाई साझा जिम्मेवारीको रूपमा लिँदै फोहर गर्नुहुँदैन र फोहर भएमा त्यसको सफाइ गर्ने दायित्व पनि हामी सबैको हुन्छ भन्ने सोच विकास गरिरहेका छौँ। यसले उपमहानगरलाई सफा राख्न सघाउ पुगको छ', उनले भने।
वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीका अनुसार हरियाली प्रवर्द्धन, वृक्षरोपण, जैविक विविधता संरक्षण, सहरी तापक्रम न्यूनीकरण र भूउपयोग योजनालाई पनि यही अभियानसँग जोडेर अगाडि बढाइएको छ।
'अव्यवस्थित बसोबासका कारण उत्पन्न डुबानलगायत समस्या समाधानका लागि पनि उत्तिकै चासो दिएका छौँ। भूउपयोग नीतिको पालना गर्ने र तत्कालका समस्या समाधानका लागि सात वटा जेसीबीमार्फत नाली खोल्ने, डुबानमा परेका घरबाट तुरुन्त पानी फाल्न पप्प प्रयोग गर्ने काम पनि अभियानकै अंगका रूपमा कार्यान्वयन गरिरहेका छौँ', उनले भने।
सहरी तथा पूर्वाधार विकास शाखा प्रमुख दिजराज भट्टले फोहर व्यवस्थापनलाई आर्थिक उपार्जनसँग जोडेर कार्यान्वयन गरिएको बताए। उनका अनुसार यसै प्रयासको प्रतिफल स्वरुप सूक्ष्म फोहर वर्गीकरण केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २५ लाख, २०८१/८२ मा ४२ लाख र २०८२/८३ मा करिब ७२ लाख रूपैयाँ आम्दानी हुने अवस्था बनेको छ।
हाल दैनिक संकलन हुने करिब ४३ टन फोहरमध्ये झण्डै ७० प्रतिशत पुनः प्रयोगका लागि व्यवस्थापन भइरहेको इन्जिनियर भट्टले जानकारी दिए। 'उपमहानगरले स्रोतमै फोहर घटाउने र व्यवस्थित रूपमा पुनः प्रयोग गर्ने तरिका प्रयोगमा ल्याएको छ। त्यसका लागि निजी क्षेत्रसँग साझेदारी गरिएको छ। अब एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिशाजन्य लेदो व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएमा धेरै समस्या समाधान हुने विश्वास छ', उनले भने।
यस अभियानअन्तर्गत सरसफाइमा सबैको अपनत्व सिर्जना गर्न पुरस्कार र दण्डको सजायको व्यवस्था गरिएको उपप्रमुख रानाले जानकारी दिए।
'सरसफाइका दृष्टिले अचेल धनगढीको निकै चर्चा भइरहेको छ, तर यो नागरिक, सरकार र सरोकार भएकाहरूको सहभागिताबिना सम्भव थिएन। त्यसैले राम्रो काम गर्ने सरसफाइ समितिलाई पाँच लाख र विद्यालयलाई १० लाख रूपैयाँसम्म पुरस्कार दिँदै आएका छौँ। नगरमा फोहरजन्य क्रियाकलापलाई दण्डित पनि गर्दै आएका छौँ', उनले भने।
उज्यालो धनगढी
धनगढीको अर्को चर्चित कार्यक्रम ‘उज्यालो धनगढी’ हो। यसको उद्देश्य सडक बत्ती जडानमा मात्र सीमित छैन। रात्रिकालीन आर्थिक गतिविधि विस्तार, नागरिकको सुरक्षा र पर्यटन प्रवर्द्धनलाई यसले लक्षित गरेको छ।
विद्युत् शाखा प्रमुख किसनकुमार शाहका अनुसार कार्यक्रमअन्तर्गत प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा मुख्य सडक, वडा केन्द्र, धार्मिकस्थल र व्यापारिक क्षेत्रमा ५७ वटा ‘हाइमास्ट लाइट’ जडान गरिएका छन्।
छ लेन सडकमा स्वचालित सडकबत्ती प्रणाली सञ्चालनमा ल्याइएको छ भने हालसम्म हुलाकी सडक तथा भित्री सडकमा एक हजार नौ सयभन्दा बढी सडकबत्ती जडान भइसकेका छन्।
उहाँका अनुसार यसले ‘सन्ध्याकालीन बजार’ सञ्चालनको आधार तयार भएको छ। 'एक वडा, एक आर्थिक केन्द्र प्रवर्द्धनका लागि विभिन्न सडक तथा नगर क्षेत्रमा विद्युत् आपूर्ति सहज र भरपर्दो बनाउन विद्युतीकरणका अन्य काममा पनि सहयोग गरिरहेका छौँ। उज्यालो धनगढीले थोरै भए पनि आर्थिक गतिविधि सञ्चालनमा टेवा पुगेको छ', शाहले भने।
यसैगरी रोजगारी सृजनालाई तालिममा मात्र सीमित नराखी सीप तथा रोजगार मेला, महिला उद्यम बजार र सहकारीमार्फत युवा, महिला तथा विपन्न समुदायलाई स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई पनि उपमहानगरले प्राथमिकतामा राखेको जनाएको छ।
रोजगार सेवा केन्द्रका अनुसार धनगढी भोकेसनल स्कूल सञ्चालनसँगै विभिन्न निकायसँग साझेदारी गरेर दक्ष जनशक्ति उत्पादन तथा उनीहरूलाई बजारसँग जोड्ने काम निरन्तर भइरहेको छ।
सामाजिक सुरक्षाको दायरा विस्तार
उपमहानगरले सामाजिक सुरक्षालाई पनि सेवा विस्तारको अर्को आधार बनाएको सामाजिक विकास शाखा प्रमुख टंक विष्ट बताउँछन्। यसमा ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई तीर्थयात्रा, ‘आमा बचाऔँ’ कार्यक्रममार्फत गर्भवती तथा शिशुको सुरक्षा, लागुऔषध दुव्र्यसन रोकथाम अभियान तथा आवश्यक परेका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
विसं २०७९ कात्तिक ३ गते सुरु भएको पहिलो तीर्थयात्रा कार्यक्रममा १४२ जना सहभागी भएका थिए। यस्तै, २०८० मा १९१ र २०८२ मा १९३ जनालाई मुक्तिनाथ, गलेश्वर, पोखरा र देवघाटको भ्रमण गराइएको थियो।
यस्तै, गरिबी, अशिक्षा र चेतनाको अभावमा घरमा हुने सुत्केरी दर घटाई आमा र नवजात शिशुको सुरक्षाका लागि ‘आमा बचाऔँ’ अभियान सञ्चालन गरिएको छ। विसं २०७९ मङ्सिर २१ देखि सुरु भएको यस कार्यक्रममा निःशुल्क एम्बुलेन्सलगायत सेवा प्रदान गरिन्छ।
त्यसैगरी, यहाँका १९ वटै वडामा रहेका ६८ सामुदायिक र १२५ संस्थागत विद्यालयमा लागुऔषधसम्बन्धी दुर्व्यसन रोकथाम कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास शाखा प्रमुख विष्टले बताए। यसका साथै एक हजार २१२ भन्दा बढी टोल विकास संस्थासँग सहकार्य सचेतना कार्यक्रम सञ्चालन र वडा नं १४ फूलबारीमा ‘आसरा सुधार केन्द्र’ स्थापना गरिएको छ।
'यी कार्यक्रमले सबैलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएर नगरलाई साँच्चै अभिभावकको रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। यसले धेरैलाई नयाँ उत्साह, भरोसा र नयाँ जीवनसमेत दिएको छ', शाखा प्रमुख विष्टले भने।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’
पर्यटन प्रवर्द्धनलाई पनि उपमहानगरले आफ्नै दायित्वका रूपमा अघि बढाएको छ। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानमार्फत प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न थालिएको छ।
पर्यटन प्रवर्द्धनलाई आफ्नै नेतृत्वमा अघि बढाउने अभ्यासका रूपमा यसलाई लिइएको नगरपालिकाले जनाएको छ। यससँगै हरित अर्थतन्त्र, जलवायु अनुकूलन, बाँस खेती, स्थानीय सीपको उपयोग र वातावरण संरक्षणलाई एउटै विकास ढाँचामा समेट्ने नीति पनि उपमहानगरले अघि सारेको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए।
नेपालका धेरै स्थानीय तहमा विकासको चर्चा अझै सडक, भवन र भौतिक पूर्वाधार निर्माणमै केन्द्रित भइरहेका बेला धनगढीले स्वास्थ्य, सरसफाइ, सामाजिक सुरक्षा, हरित विकास, पर्यटन र स्थानीय अर्थतन्त्रलाई अभियानकै रूपमा अघि बढाउने अभ्यास थालेको छ।
यी अभियानको सफल कार्यान्वयन हुनसके धनगढीको अनुभव सुदूरपश्चिमका लागिमात्र होइन, देशभरका स्थानीय तहका लागि पनि दिगो, सहभागितामूलक र नागरिककेन्द्रित विकासको उदाहरण बन्न सक्छ। रासस