दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानून निर्माण गरेको छ। विधान समितिका संयोजक भीमबहादुर कुँवर योगीका अनुसार विसं २०७५ देखि २०८३ असारसम्म यी कानून पारित भएका हुन्।
नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानूनसम्मत र विश्वसनीय बनाउन यी कानून निर्माण गरिएको संयोजक योगीले बताए। उनका अनुसार ८९ वटा कार्यविधि रहेका छन्, भने ४१ वटा ऐन र पाँचवटा नियमावली पारित गरिएका छन्।
साथै, उपमहानगरपालिकाले नौ वटा मापदण्ड, चारवटा निर्देशिका, तीनवटा कार्ययोजना र नीति, रणनीति तथा योजना/मार्गदर्शनतर्फ एक/एकवटा कानून निर्माण गरी कार्यान्वयन गरेको उनले जानकारी दिए।
विधान समितिले विधानको आवश्यकता पहिचान गर्ने, सरोकार भएका निकायसँग छलफल गर्ने र मस्यौदा निर्माण गरी कार्यपालिका तथा नगरसभाबाट स्वीकृत गराउने प्रक्रियालाई निरन्तरता दिँदै आएको संयोजक योगीले उल्लेख गरे। उनका अनुसार पछिल्लो समय २०८२ मा ढुंगा दर्ता तथा व्यवस्थापन, पशु सेवा कार्यक्रम सञ्चालन, घर बहाल कर व्यवस्थापन, लागत साझेदारी आयोजना सञ्चालनलगायत कार्यविधिहरू नगरसभाबाट पारित गरिएको छ।
यसैगरी, उपभोक्ता समिति गठन र वारुणयन्त्र व्यवस्थापनसम्बन्धी कार्यविधि पनि कार्यान्वयनमा आइसकेका छन्।
स्थानीय सरकारको सेवालाई अझ बढी छिटो र प्रभावकारी बनाउन आर्थिक सहायता, सञ्चार, दूध उत्पादनमा आधारित अनुदान, खेलकुद विकास र तुलसीपुर बहुउद्देश्यीय कम्प्लेक्स भवन सञ्चालनलगायत थप पाँचवटा कानून हाल मस्यौदा निर्माण र छलफलको चरणमा रहेका संयोजक योगीले जानकारी दिए। रासस