काठमाडौं- उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब एक करोड ८५ लाख ३०५ रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ।
विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट ९ अर्ब ५८ करोड रूपैयाँका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ रूपैयाँ लागतको २१९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ।
विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। त्यसैगरी, ऊर्जामूलक क्षेत्रअन्तर्गत चारवटा परियोजनाका लागि ७ अर्ब १६ करोड रूपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।
त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा २३ अर्ब १८ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रका लागि २२७ परियोजनामा १३ अर्ब ९९ करोड रूपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।
त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा ७२७ परियोजनाका लागि २ अर्ब ८३ करोड रूपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। रासस