मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

११ महिनामा ३ सय ९१ खर्ब रुपैयाँ तरलता प्रशोचन, अन्तरबैंक कारोबारमा गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३० २०८३
११ महिनामा ३ सय ९१ खर्ब रुपैयाँ तरलता प्रशोचन, अन्तरबैंक कारोबारमा गिरावट

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ९३ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४६ अर्ब ३५ करोड गरी कुल १० खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ बराबरको मात्र अन्तरबैंक कारोबार भएको छ।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबारमा संकुचन आएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा अन्तरबैंक कारोबारमा अघिल्लो वर्षको तुलनामा ६ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँले गिरावट आएको हो। 

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ९३ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४६ अर्ब ३५ करोड गरी कुल १० खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ बराबरको मात्र अन्तरबैंक कारोबार भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको थियो।

बजारमा अधिक तरलता रहेका कारण बैंकहरूबीचको सापटी लेनदेन घटेको समयमा राष्ट्र बैंकले तरलता प्रशोचन गरेको छ। समीक्षा अवधिमा केन्द्रीय बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ३३ खर्ब २९ अर्ब रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३ सय ५५ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ सय अर्ब रुपैयाँ गरी कुल ३ सय ९१ खर्ब १३ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। 

यसै अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएकाले खुद ३ सय ९१ खर्ब ७० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक-पटक गरी खुद २ सय १३ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ मात्र तरलता प्रशोचन गरिएको छ।

विदेशी मुद्रा व्यवस्थापनतर्फ भने राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ७ अर्ब ४ करोड खुद खरिद गरी प्रणालीमा १० खर्ब २६ अर्ब ३ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट ५ अर्ब अमेरिकी डलर खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो। 

यसैगरी भारतीय रुपैयाँ  को जोहो गर्नका लागि समीक्षा अवधिमा ४ अर्ब २८ करोड अमेरिकी डलर बिक्री गरी ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरेर ४ खर्ब ७१ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको  छ।


प्रकाशित : मंगलबार, असार ३० २०८३११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend